स्रोत नखुलेको साढे १५ लाख नगद सहित तीनजना पक्राउ 

स्रोत नखुलेको साढे १५ लाख नगद सहित तीनजना पक्राउ 

वीरगन्ज, १६ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १५ लाख रुपैंया सहित तीनजनालाई पक्राउ गरेको छ । वीरगन्जको छप्कैया–सिर्सिया नाका हुँदै हुण्डी कारोबार हुँदैगरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले

वीरगञ्ज ममहानगरपालिका वडा नं.२५ सिर्सिया छोटी भन्सार अगाडिबाट भारत पूर्वी चम्पारण थाना कंगेली १ बसतपुरका २५ बर्षीय बिक्रम पटेल भारत मोतिहारी थाना पलनवा भेलाहीका २९ बर्षीय मुकेश पटेल र पर्साको धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका २३ वर्ष बलिराम पटेललाई पक्राउ गरेको हो ।

भारतबाट तीनवटा मोटरसाईकलमा आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुले हेल्मेटभित्र लुकाइछिपाई ल्याएको श्रोत नखुलेको नेपाली १५ लाख ५० हजार रुपैंया रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नगद सहित पक्राउ परेका उनीहरलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

उनीहरुले प्रयोग गरेको ना. ६० प. ५९९८ नम्बरको सिडी डिलक्स, ना.४१ प. १०४८ नम्बरको सिडी डिलक्स,  ना. ६४ प. ८३५९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाईकल समेत बरामद गरि नियन्त्रणमा राखिएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।