नक्कली सुन देखाएर ठगी गर्ने ४ जना पक्राउ
वीरगन्ज, ४ फागुन । नक्कली सुन देखाएर ठगी गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको बरहथवा न.पा.वडा नं.–१० बस्ने वर्ष ३१ को रामबिर चौधरी, सोही नगरपालिकाको वडा नं.६ बस्ने वर्ष ४५ को लालबाबु राय यादव, वडा नं. १८ बस्ने वर्ष ३८ को राकेश कुर्मी र वडा नं.– १७ बस्ने वर्ष २७ को अवधेश कुमार राय रहेका छन् ।
उनीहरुले वीरगञ्ज महानगरपालिका वडा नं.–१५ स्थित हिमालयन होटल अगाडी सडकखण्डमा बीआर ३१ पी ०६४९ नम्बरको सेतो स्कारपियो गाडीमा बसेर सर्वसाधारण मानिसहरूलाई नक्कली सुन बिस्कुट आकारको १ किलो लेखिएको धातु देखाइ भ्रममा पारेर ठगी गर्ने नियतले बिक्री गर्न लागेको सूचनाकोे आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
बिना बिलको तथा नक्कली सुन जस्तो देखिने पहेलो धातु देखाइ विक्री गर्न लागेको भन्ने सूचना पाएपछि प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नक्कली सुन बिस्कुट आकारको १ किलो लेखिएको सामान सहित पक्राउ गरेको उहाँले बताउनुभयो ।
सुन जस्तो देखिएको वस्तुलाई वीरगञ्ज सुन चाँदी व्यवसायी संघ माईस्थान वीरगञ्जमा पठाएर परीक्षण गराउँदा सुन नभई सुनको जलप भएको धातु हो भन्ने परीक्षण प्रतिवेदन प्राप्त भएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । पक्राउ परेका चारैजनालाई ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।