जटिल र चूनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने मन्त्री परिषदको पहिलो निर्णय 

जटिल र चूनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने मन्त्री परिषदको पहिलो निर्णय 

वीरगन्ज, ११ पुस । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको मन्त्री परिषदको पहिलो बैठक विभिन्न निर्णय गरेर सम्पन्न भएको छ ।

आईतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणपछि गठन भएको आठ सदस्यीय मन्त्री परिषदले जटिल र चुनौतीपूर्ण अवस्थामा रहेको देशको अर्थतन्त्रलाई सुधार्ने प्रभावकारी उपायको बारेमा केन्द्रीत हुने निर्णय गरेको नवनियुक्त प्रधानमन्त्री प्रचण्डले बताउनु भएको छ ।  मन्त्री परिषदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,

“थुप्रै जटिलता र चुनौतीहरु छन् । त्यसलाई सुधार्ने उपायको बारेमा केन्द्रीत हुने निर्णय गरेका छौं ।” गठबन्धनको नेतृत्वमा काम गर्न कति सहज छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो मन्त्री परिषद जुन प्रकृतिले बनेको छ । गएको निर्वाचनले दिएको मत परिणाम अनुसार नै समेटेको छ । यसले एउटा आशा जगाएको छ । हामीले भर्खरै बैठक सक्यौ । नेपालको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण दिशातिर छ । त्यसलाई सुधार्ने प्रभावकारी उपायमा केन्द्रीत भएर अगाडि बढ्ने कुरा हुने पहिलो निर्णय गरेका छौं । सुशासनमा गम्भीर भएर अगाडि बढ्ने जनताले पाईरहेको सास्ती र दुख, राहदानी, लाईसेन्स लगायतका समस्याहरु समयभित्रै प्रभावकारी ढंगले जनतालाई सेवा दिने विषयमा केन्द्रीत भएका छौं । हामीले अब प्रतिनिधिसभाको बैठक पनि चाडै बोलाउने तयारी गरेका छौं । गम्भीर रुपले देशका अगाडि रहेका जनताका समस्याहरुलाई सम्बोधन गर्न केन्द्रीत हुने संकल्प गरेका छौं । सबैको केही नयाँ गरि छाड्नेहरुको नै केन्द्रीकृत भएको छ । त्यसले काम गर्न सहज नै हुन्छ ।”

सोमबार अपरान्ह तीनजना उपप्रधानमन्त्री सहित ८ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री र रबि लामिछाने उपप्रधान तथा गृहमन्त्री नियुक्त हुनुभएको छ । त्यस्तै एमालेबाट राजेन्द्र कुमार राई, दामोदर भण्डारी र ज्वाला साह विनाविभागीय मन्त्री बन्नुभएको छ । जनमत पार्टीबाट अब्दुल खानले मन्त्री बन्नुभएको छ ।