जसपा पर्साको पार्टी कार्यालयमा बोर्ड र झण्डा राखियो
वीरगन्ज, ३ कार्तिक जनता समाजवादी पार्टी पर्साले वीरगन्ज स्थित पार्टी कार्यालयमा हिजो पार्टीको बोर्ड र झण्डा राखेको छ ।
पाँचदलीय गठबन्धनको सरकारमा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित जसपाका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै गत असोज २२ गते उहाका समर्थकहरुले पार्टी कार्यालयमा तालाबन्दी गर्नुका साथै बोर्ड समेत निकालेर जलाई दिएका थिए ।
पार्टी कार्यालयमा लगाईएको ताला हिजो जसपा अध्यक्ष रामनरेश यादवको नेतृत्वमा गएको जसपाका नेता कार्यकर्ताहरूलेसाथै झण्डा र बोर्ड राखेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिनुभयो ।
हिजोको कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य करिमा बेगम, पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, नेताहरू तुफैल अख्तर, फिरोज मन्सुर, शेष समीर, शिव कुमार साह, अजय साह, सुरज पटेल, प्रेम सर्राफ, आमोद यादव लगायतको उपस्थिति रहेको थियो ।
सांसद प्रदीप यादवलाई मन्त्री नबनाएपछि उहाँका समर्थकहरूले काठमाडौंमा गएर पनि पार्टी नेतृत्वको विरूद्धमा नाराजुलुस गरेका थिए ।
मन्त्री नबनाएको आक्रोसमा सांसद यादवले अस्ति दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी कार्यकर्ता भेला गरेर शक्ति प्रदर्शन पनि गर्नु भएको थियो । उक्त कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्र तहका नेताहरू भने अनुपस्थित रहेका थिए ।