एसईई परीक्षा आजदेखि शुरु, पर्सामा ८ हजार ५ सय ८६ विद्यार्थीले परीक्षा दिँदै
वीरगन्ज, १७ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुदैछ । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका १२ हजार ८३ वटा विद्यालयबाट पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका मध्य ४ लाख ८५ हजार ३१६ जनाले परीक्षामा भाग लिएका छन् ।
त्यसमध्य छात्रातर्फ दुई लाख ४२ हजार ७१२ र छात्रतर्फ दुईलाख ४२ हजार ६७४ जना रहेका छन् । देशभरका ५०५ विद्यालयमा सञ्चालनमा रहेको प्राविधिकधारतर्फबाट १५ हजार ४६१ परीक्षार्थीले आज परीक्षा दिईरहेका छन् । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो ।
आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइस्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिनेछ ।
प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो । परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् ।
केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सहायक÷सहयोगी कर्मचारी र सुरक्षाकर्मी सहित ७७ हजार ९९२ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्याय कक्षा १० ले जनाएको छ ।
पर्सामा ८ हजार ५ सय ८६ विद्यार्थीले परीक्षा दिँदै
यसैबीच पर्सामा ८ हजार ५ सय ८६ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जिल्लाभरका विद्यालयहरुबाट नौ हजार एकसय ६५ विद्यार्थीले एसईईका लागि परीक्षा फाराम भरेपनि परीक्षामा भने ८ हजार ५ सय ८६ जना विद्यार्थी मात्रै सहभागि भएको शिक्षा विकास समन्वय ईकाइ कार्यालय पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार पर्सामा ८ हजार ५ सय ८६ परीक्षार्थी मध्य ३९० जना ग्रेड वृद्धितर्फ र १८५ जना विद्यार्थी प्राविधिक धारतर्फबाट परीक्षामा सहभागी भएका छन् । परीक्षाका लागि वीरगन्ज महानगरपालिका भित्र १३ वटा र अन्य स्थानमा १२ वटा गरी २५ वटा परीक्षा केन्द्र तोकिएको छ । प्रत्येक परीक्षा केन्द्रमा एकजना केन्द्राध्यक्ष तोकिएको छ ।
२२५ जना परीक्षार्थी एउटा परीक्षा केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष, त्यो भन्दामाथि तीनसय परीक्षार्थी रहेको केन्द्रमा दुईजना सहायक केन्द्राध्यक्ष र ५ सय परीक्षार्थी रहेको परीक्षा केन्द्रमा ३ जनासम्म सहायक केन्द्राध्यक्षको व्यावस्था गरिएको समन्वय इकाई प्रमुख श्रेष्ठले बताउनुभयो ।
परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा र अनुगमनको व्यावस्थापनि मिलाईएको श्रेष्ठले बताउनुभयो ।