किराँत समुदायको पर्व उद्यौली पथलैयामा भव्य रुपमा सम्पन्न
वीरगन्ज, १० पुस । किराँत समुदायले यलेदोङ ५०८१ को अवसरमा बाराको पथलैयामा भव्य कार्यक्रमको आयोजना गरेको छ । किराँत चाड उद्यौलीको अवसरमा शुभकामना आदान प्रदान तथा साकेला थान स्थापनाको उदघाटन शनिबार समारोहको आयोजना गरी भव्य रुपमा मनाएको हो ।
किराँत राई यायोक्खा बाराका अध्यक्ष सुरेश राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि किराँत राई यायोक्खा केन्द्रीय समितिका अध्यक्ष दिवस राईले साकेला थानको उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य दिनेश राई, प्रदेश २ का प्रदेशसभा सदस्य शोभा लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश २ का इन्चार्ज निरज पिठाकोटे मगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बाराका अध्यक्ष रामदास धौंजु,
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, नेपाल मगर संघ बाराका अध्यक्ष यम बहादुर जर्घा मगर लगायतले शुभकामना व्यक्त गरेका थिए । यसैबीच कार्यक्रममा साफ खेलकुद प्रतियोगितामा रजत पदक विजेता माला राईलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य शोभा लामाले किराँत समुदायको साकेला थान निर्माण स्थलको लागि आगामी बजेटमा पाँच लाख रुपैंया सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ । कार्यक्रममा बारा, पर्सा र मकवानपुरमा बसोवास गर्ने किराँच राई समुदायको उल्लेख्य सहभागिता रहेको किराँत राई यायोक्खा पर्साका पूर्व अध्यक्ष जगत राईले जानकारी दिनुभयो ।