दुग्धेश्वरनाथ भाठ्ठाधाममा मेला लगाउन सरोकार पक्षबीच सहमति 

दुग्धेश्वरनाथ भाठ्ठाधाममा मेला लगाउन सरोकार पक्षबीच सहमति 

वीरगन्ज, १९ माघ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ सोनबर्षा स्थित दुग्धेश्वरनाथ मन्दिरमा भाठ्ठा मेला लाग्ने भएको छ । हिन्दु परिषद नेपालको सहयोगमा बाबा दुग्धेश्वरनाथ भाठ्ठा धाममा मेला लाग्ने भएको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारमा सर्वपक्षीय छलफलबाट पर्सा जिल्लाकै गौरवको रुपमा रहेको दुग्धेश्वरनाथ भाठ्ठा धामको मेलालाई निरन्तरता दिने र भव्य तथा सभ्य तरिकाले मनाउने निर्णय भएको छ । मेलाको लागि सम्पुर्ण सरोकार वालाहरुले रचनात्मक भूमिका निर्वाह गर्ने सहमति भएको हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले जानकारी दिनुभयो । 

छलफलमा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराका सहायक संरक्षक अधिकृत संतोष भगत, अरबिन्द यादव, नेपाली सेनाका सह–सेनानी तीर्थ बहादुर खत्री, भाठ्ठा मन्दिर समितिका अध्यक्ष अलखदेव प्रसाद थारु, मेला समितिका अध्यक्ष निरज सर्राफ,

हिन्दु परिषद नेपालका कन्द्रीय अध्यक्ष सन्तोष पटेल, केन्द्रीय सदस्य एवम् अधिवक्ता बिनोद प्रसाद कुर्मी, कावरिया संघका गेनालाल पटेल, मेला संरक्षण समितिका सदस्य बिष्णु सर्राफ, रेन्जर बिष्णु कलौनी र बिष्णु पौडेल, नायब सुब्बा रमेश गुप्ता, पटेर्वासुगौली गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष राजेश्वर महतो लगायतको सहभागिता रहेको थियो ।

मेलामा मास्क अनिवार्य लगाउने, सरसफाई गर्ने, एकै ठाउँमा धेरैको संख्यामा भीड नगर्ने, चर्को स्वरमा ध्वनी प्रदुषण नगर्ने, जंगलका जनावरलाई उत्तेजित पार्ने कार्य नगर्ने, शान्ति सुरक्षाको ख्याल राख्ने, अपराधिक एवम् गैर कानुनी क्रियाकलाप गर्ने

व्यक्तिबाट सजग रहने लगायतको कार्यलाई प्रमुखताका साथ पालना गर्ने सहमति भएको हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले जानकारी दिनुभयो । भाठ्ठाधाममा पूजाको लागि आउने श्रद्धालु भक्तजनलाई सहजरुपमा प्रवेश दिने व्यवस्थापन गर्ने पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले जनाएको छ । ऋषि पंञ्चमीको दिन भाठ्ठा धाममा बिशेष पूजापाठ हुने गरेको छ ।