माओवादीको नीति र एजेण्डामा नै देश चलिरहेको छ : राज्यमन्त्री अन्सारी
वीरगन्ज, १६ भदौ । नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य तथा मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले माओवादी केन्द्रको नीति र एजेण्डामा नै अहिले देश चलिरहेको बताउनु भएको छ ।
माओवादी केन्द्रले आजदेखि शुरु गरेको ‘घर घरमा माओवादी, जनजनमा माओवादी विशेष रुपमान्तारण अभियान’ को वडा नम्बर १४ मा उदघाटन गर्दै राज्यमन्त्री अन्सारीले नेपालको राजनीतिमा २० बर्षदेखि माओवादीको नीति र एजेण्डामा हिडेको बताउनुभयो ।
उहाँले माओवादी जनयुद्धकै कारणले राजनीतिक परिवर्तन सम्भव भएको र नेपालमा बसोवास गरेको सबै जातजाति, भाषा, धर्म, समुदाय र वर्गले अधिकार प्राप्त गरेकोले त्यसलाई संस्थागत गर्नका लागि पनि माओवादीलाई जनताले साथ दिनुपर्ने बताउनुभयो ।
उहाँले माओवादीले सरकारको नेतृत्व गरेको समयमा र नेतृत्वमा नरहँदा पनि जनताको काम गरेको भन्दै राज्यमन्त्री अन्सारीले पर्सामा माओवादीलाई दिएको भोटले नै आफूलाई प्रदेशसभामा निर्वाचित गराएर माओवादी पनि छ है भन्ने जवाफ दिएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र वडा नम्बर १४ का वडा अध्यक्ष महेश पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समिति सदस्य तथा मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय कार्यवाहक अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आजदेखि शुरु भएको अभियानमा अब वडा नम्बर १४ मा विशेष अभियान सञ्चालन गर्ने र सबैभन्दा पहिले वडावासीहरुलाई खानेपानीको समस्या भएकोले त्यसको समाधानका लागि डीपबोरिङको व्यावस्था गर्ने राज्यमन्त्री अन्सारीले प्रबिद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले वडामा रहेका सार्वजनिक स्थानहरुरुमा वृक्षरोपण गर्नुपर्ने भए त्यसको लागि पनि व्यावस्था गर्ने र वडावासीको समस्या बुझ्न घर घरमा जाने पनि बताउनुभयो । कार्यक्रमको सहजीकरण युवा नेता कुशल पटेलले गर्नुभएको थियो ।