आईपीएल क्रिकेटमा चेन्नई र बैंग्लोर भीड्दै
वीरगन्ज, ८ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नई सुपर किंग्स भिड्दै छन् । दुवईको सारजाँह स्टेडियमा नेपाली समयानुसार बेलुकी पौने आठ बजे खेल हुनेछ ।
दुबई आबुधाबीमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
कोलकाताको जितमा राहुल त्रिपाठीले अविजित रहँदै ७४ रनको अर्धशतकीय इनिङ्ग्स खेलेका थिए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।
मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय इनिङ्ग्स खेलेका थिए । कप्तान रोहित शर्माले ३३ रन जोड्दा केइरन पोलार्डले २१ रन जोडका थिए । जितसँगै कोलकाताले ९ खेलमा ८ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ भने छैटौँ स्थान रहेको मुम्बईले पनि ९ खेलमा ८ अङ्क जोडेको छ ।