प्रधानमन्त्री नियुक्त गर्न विपक्षी दलको राष्ट्रपति समक्ष आह्वान
वीरगन्ज, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएर पद मुक्त भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिका लागि विपक्षी दलहरुले राष्ट्रपति समक्ष आह्वान गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा नयाँ सरकारको गठनको आह्वान गर्नुभएको हो ।
संसदमा अविश्वासको मतबाट प्रधानमन्त्री ओली पदमुक्त भए लगत्तै तीनवटै पार्टीका अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति निकालेर राष्ट्रपनि विद्यादेवी भण्डारीलाई नयाँ सरकार गठनका लागि नेपालको संविधान २०७२ को धारा धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकारको गठन गर्न आह्वान गरेका हुन् ।
संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रधानमन्त्री केपी ओलीले विश्वासको मतका लागि प्रतिनिधिसभा संसदमा राख्नुभएको प्रस्ताव संविधानको धारा १०० को उपधारा (३) बमोजिम तत्काल कायम रहेको सम्पूर्ण सदस्यहरुको बहुमतले अस्वीकृत गरेकोले संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रकृपा प्रारम्भ गर्न अनुरोध गरेको छ ।