एमालेमा नवप्रवेशीले पूराना कम्युनिष्ट नेताहरु विस्थापित हुदै

एमालेमा नवप्रवेशीले पूराना कम्युनिष्ट नेताहरु विस्थापित हुदै

वीरगञ्ज ११ वैशाख । राजनीतिमा पदका लागि प्रवेश गर्नेहरुले पूराना कम्युनिष्ट नेताहरुलाई एमालेबाट विस्थापित गरिरहेका छन् ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्ष तयारीका लागि वीरगन्ज महानगरपालिकाबाट सेवा निवृत्त हुनुभएका सुमन श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेसँगै एमालेका प्रभावशाली नेता एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा सुदिप लामा एमालेबाट बाहिरिनु परेको छ ।

उहाँ जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ । पर्सामा नेकपा एमालेले कम्युनिष्ट सिद्धान्त विपरित काम गरिरहेको र पार्टीमा पुँजीवादीहरु हावी भएको आरोप लगाउँदै लामाले पार्टी परित्याग गर्नुभएको हो ।

लामाले मात्रै होईन नेकपा एमालेको वडा नम्बर १२ का अध्यक्षको दावेदार महमुद अन्सारीले पनि एमाले पार्टी परित्याग गरेका छन् । लामा र अन्सारीको बहिर्गमनले नेकपा एमालेलाई ठूलो नोक्सानी हुने अनुमान गरिएको छ ।

एमाले छोड्नुभएका लामालाई आइतबार पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सांसद् प्रदीप यादव र जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले फुलमाला र अविर लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।

नेकपा एमाले पर्साका केही व्यक्तिले पार्टीलाई एकलौटी तरिकाले चलाएर नवप्रवेशीहरुलाई प्रथामिकतामा राखी वर्षौंदेखि पार्टीमा लगानी गरेकाहरुलाई वेवास्ता गरेको लामाले बताउनुभयो ।

लामालाई जसपामा स्वागत गर्दै सांसद् प्रदीप यादवले नेकपा एमाले  पर्साका जिल्ला सचिवालय सदस्य एवम् प्रजातान्त्रिक आन्दोलनका अगुवा सुदीप लामासहित सयौं समर्थकले जसपा प्रवेश गर्दा पार्टी झन् बलियो भएको बताएका छन् ।

महम्मुद अन्सारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गर्नुभएको छ । मधेस आन्दोलनबाट राजनीति सुरुवात गर्नुभएका युवा नेता महम्मुद प्रभावशाली युवा नेताको रुपमा परिचित हुनुहुन्छ ।