रहबर, विचारी र जन्नत, कस्को पोल्टामा जाला जनमत ? 

रहबर, विचारी र जन्नत, कस्को पोल्टामा जाला जनमत ? 

वीरगन्ज, २५ कार्तिक । पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६ वटा राजनीतिक दलका उम्मेदवार र १२ जना स्वतन्त्र गरी १८ जनाले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । बाम लोकतान्त्रिक गठवन्धन पर्सा क्षेत्र नं १ को १ साझा उमेदवार रहवर अन्सारी, एमाले जसपा गठबन्धनबाट विचारी यादव, नेपाल संघीय समाजवादी पार्टीबाट सोएब अन्सारी, जनतम पार्टीबाट वाजुल हक अन्सारी, राप्रपाबाट अनिल कुमार कुश्वाहा र नेपाल लोकतान्त्रिक पार्टीबाट अमानुल्लाह अन्सारीले उम्मेदवारी दिएका छन् ।

त्यस बाहेक जसपाबाट टिकट नपाएपछि जन्नत अन्सारी र कांग्रेसबाट टिकट नपाएका सुधिर पटेलले पनि प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै पूराना कांग्रेस नेता रामनारायण राउतले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । १८ जना उम्मेदवार मध्य रहबर अन्सारी, विचारी यादव र जन्नत अन्सारीबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अन्य उम्मेदवारहरुको खासै जनमत देखिदैन । जन्नत अन्सारी यसअघिको प्रदेशसभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दीको रुपमा रामनारायण कुर्मी रहनुभएको थियो भने । रहबर अन्सारी तेश्रो नम्बरमा रहनुभएको थियो । यसपटक रामनारायण कुर्मी प्रदेशसभाको २ मा उम्मेदवार हुनुहुन्छ । जन्नत अन्सारी उम्मेदवार मनोनयन गर्ने दिनको अघिल्लो दिनसम्म जसपामै रहेको व्यक्ति र टिकट नपाएपछि २३ गते मनोनयनको दिन स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको हो ।

यद्यपि उहाँलाई एमाले जसपा गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवको (डमी) उम्मेदवारको रुपमा धेरैले शंका गरेका छन् । जन्नतले घरदैलोमा मतदाताहरुसँग मत माग्दा उनका समर्थकहरुले प्रतिनिधिसभा सदस्यमा छाता छापमा मत माग्ने गरेको मतदाताहरुको भनाईले पनि शंकाको सुविधा दिएको छ । ३९ हजार १६ मतदाता रहेको प्रदेशसभा १ मा वीरगन्ज महानगरपालिकाको १० वटा वडा पर्छन् । यस क्षेत्रमा सबैभन्दा कम मत भएको वडा ३० मा २५८४ मत रहेको छ । भने, सबैभन्दा बढी मत भएको वडा ३२ मा ५३५७ मत रहेको छ ।

प्रदेशसभा १ को क्षेत्रमा पर्ने वडाहरुमा स्थानीय तहको निर्वाचनमा ४ वटा नेकपा एमाले र ४ वटा वडा जनता समाजवादी पार्टीले जितेको छ । त्यस्तै वडा नम्बर २१ लोसपा र वडा नम्बर २२ कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् । स्थानीय तहको मतको आधारमा एमाले जसपा गठबन्धन बलियो देखिन्छ । तर, जसपाले अचानक मधेस विरोधी पार्टी एमालेसँग तालमेल गरेपछि मधेस सेण्टिमेण्टको मत एमालेलाई जाने सम्भावना कम देखिएको छ ।

यसको अर्थ विचारी यादवलाई भन्दा रहबरलाई नै मत जाने प्रवल सम्भावना देखिन्छ । त्यस्तै मधेस आन्दोलनमा एमालेका नेता कार्यकर्ताहरुमाथि भएका आक्रमण लगायतका घटनाका कारण एमाले जसपा गठबन्धनका तल्लो तहका नेता कार्यकर्ताहरुसम्म भावनात्मक अन्तरघुलन नभएको हुँदा त्यो मत पनि डाईभर्ट हुने अडकल काटेका छन् । रहबरलाई यसपटक गठबन्धनको साथ छ । तर, गठबन्धन दलको नेपाली कांग्रेस र लोसपाको एउटा एउटा मात्रै वडा जितेको छ ।

यसपटकको मत सामुदायिक आधारमा पनि बाँडिने अनुमान छ । त्यस आधारमा जनमत बढी भएका उम्मेदवार रहबर र जन्नत अन्सारी मुस्लीम समुदाय र विचारी यादव यादव समुदायबाट जनमत भएको उम्मेदवार हुनुहुन्छ । त्यस्तै कुर्मी समुदायबाट मत आउनसक्ने सुधिर पटेल देखिन्छन् । सामुदायको आधारमा मत खसेमा मतदाता संख्या धेरै भएको दुईजना उम्मेदवार रहबर र जन्नतको मुस्लीम मत बाँडिने र आफूले बाजी मार्ने दाउमा विचारी हुनुहुन्छ ।

जसपासँगको गठबन्धनकै कारणले एमाले र जसपा दुवै दलका नेता कार्यकर्ताहरु रुष्ट भएको र दुई उम्मेदवारको तुलनामा व्यत्तित्वको हिसाबले रहबर योग्य भएकोले पनि मतदाताको रोजाईमा पर्न सक्छन् । यद्यपि परिणामकाे लागि भने मंसिर ४ गतेकाे मतदानपछि आउने मत परिणामले तय गर्नेछ ।