नेपाली कांग्रेस वीरगन्ज महानगरमा संस्थापन इतरका मणीन्द्रलाल नेपाली विजयी 

वीरगन्ज, १५ फागुन । नेपाली कांग्रेसको पाँचवटा स्थानीय तहमा भएको मतदानको मतपरिणाम आउने क्रम जारी रहेको छ । हिजो भएको मतदानको मतपरिणाम अनुसार ठोरी गाउँपालिका, पर्सागढी नगरपालिका र बहुदरामाई नगरपालिकाको मतपरिणामा आएको छ ।

वीरगन्ज महानगरपालिकामा पदाधिकारीहरु मध्य केही पदको मत परिणाम आएको छ । ताजा मतपरिणाम अनुसार वीरगन्ज महानगरपालिकामा मणीन्द्रलाल नेपाली विजयी हुनु भएको छ ।

जिल्ला सभापति अजय द्विवेदी र पूर्व सभापति राजेन्द्र बहादुर अमात्य समूहका नेपाली ३६ मतले विजयी हुनुभएको छ । उहाँले २५७ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटम प्रतिद्वन्दी रमेश रिजाल र अजय चौरसिया पक्षका  राधेश्याम चौरसियाले २२१ मत ल्याउनु भएको छ ।

त्यस्तै अर्का प्रतिस्पर्धी दिपेन्द्र चौहानले ३२ मत ल्याउनु भएको छ । त्यसैगरी उपसभापतिमा संतोष गुप्ता २४८ मत र सर्जुग महतो २४४ मत ल्याएर विजयी हुनुभएको छ । गुप्ता द्विवेदी र अमात्य समूहका र महतो रिजाल र चौरसिया समूहका हुन् ।

उपसभापतिमा विजय सिंह २४२ र विरभूषण प्रसाद पटेल २२३ मत ल्याएर पराजित हुनुभएको छ । सचिवमा संस्थापन इतरका शिवचन्द्र प्रसाद यादव २६२ र संस्थापन पक्षका श्याम प्रसाद कुर्मी २३९ ले विजयी हुनुभएको छ ।

सचिव पदमा पराजित सञ्जय श्रीवास्तवको २२४ र धिरज कुमार गुप्ताको २१९ मत आएको छ । त्यसैगरी सहसचिवमा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन् । दीपक कुमार साह २४६ र सहजाद हुसैन अन्सारी २५० मत ल्याएर विजयी हुनुभएको हो ।

संस्थापन इतरका सम्साद अली अन्सारीले २३१ मत र जईन्द्र प्रसाद कुर्मी २२८ मत पाउनुभएको छ ।  अन्य पदाधिकारी र क्लष्टर सदस्यहरुको मतगणना भने जारी रहेको नेपाली कांग्रेसका पूर्व नगर सचिव मनोहर साहले जानकारी दिनुभयो ।