सरकारी कागजात र सहीछाप किर्ते गर्ने फरार अभियुक्त पक्राउ
वीरगन्ज, २५ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी कागजात र सहीछाप किर्ते गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पर्सागढी न.पा.वडा नं. ५ बस्ने वर्ष ४८ को मदन मिश्र रहेका छन् ।
उनी विरुद्ध पर्सा जिल्ला अदालतमा किर्ते सहीछाप मुद्दा परेको र जिल्ला अदालतले मिति २०७५ भदौ १५ गते उनलाई १ वर्ष कैद र १ करोड २५, लाख जरिवाना फैसला गरेपछि उनी फरार रहेका थिए ।
फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको सूचना आधारमा बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सा पर्सागढी नगरपालिका वडा नम्बर २ बागवाना स्थित ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पक्राउ गरी पर्सा जिल्ला अदालतमा हाजिर गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।