संसद विघटनको विरुद्ध माओवादी युवा विद्यार्थी आन्दोलित 

संसद विघटनको विरुद्ध माओवादी युवा विद्यार्थी आन्दोलित 

वीरगन्ज, १० जेठ । संसद विघटनको विरुद्धमा वीरगंजमा ५ दलका युवा विद्यार्थीहरु आन्दोलित भएका छन् ।  आइतबार सांझ आन्दोलित विद्यार्थीहरुले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । नेकपा माओबादी केन्द्र निकटका विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले वीरगंजको श्रीपुरमा र योङ्ग कम्युनिष्ट लिग (वाईसियल) ले घण्टाघरदेखि पूर्व लिंकरोडमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगामी कदम विरुद्ध केन्द्रिय सर्कुलर अनुसार वीरगन्जमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवम् पर्सा इन्चार्ज जुबेर आलमले वताउनुभयो । पुत्ला दहन कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् प्रदेश नंबर २ का सह संयोजक प्रभाकर गुप्ता, वीरगंज महानगर संयोजक विवेक साह, नेता मिरोज अहमद, दिलसाद अहमद, रविन्द्र गुप्ता लगायतको सहभागिता रहेको थियो । त्यस्तै वाईसीयले पनि घण्टाघरदेखि पूर्व लिंक रोडमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

वाइसियलका पर्सा अध्यक्ष ओमप्रकाश गुप्ताको नेतृत्वमा पुत्ला दहन गरेको हो । पुत्ला दहन कार्यक्रममा वाईसियल प्रदेश नम्बर २ का सदस्य पिन्टु कुमार रौनियार लगायतको सहभागिता रहेको थियो । यसैगरी नगर अध्यक्ष विकास पटेलको नेतृत्वमा पनि पुत्ला दहन गरिएको छ । पुत्ला दहन कार्यक्रममा दिलिप कुमार गुप्ता, प्रिन्स सावन गुप्ता लगायतको उपस्थिति रहेको सञ्जिव गुप्ताले जानकारी दिनुभयो ।

यसैबीच वीरगन्ज स्थित ठाकुरराम क्याम्पसका चार बिद्यार्थी संगठनहरुले हिजो संयुक्त बिज्ञप्ती जारी गर्दै गत जेठ ८ गते मध्यराति प्रधानमंत्री र राष्ट्रपतिले चालेको कदम प्रतिगामी भएका कारण प्रतिकार गर्न आग्रह गरेका छन् । नेसिबंघ ठाकुरराम क्याम्पस इकाईका अध्यक्ष मनोज साह,अखिल क्रान्तिकारीका अध्यक्ष अभिशेक ठाकुर,समाजवादी बिद्यार्थी युनियनका अध्यक्ष हरिन्द्र साह र अनेरास्वबियुका संयोजक मंजय यादवले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त कमदको प्रतिकार गर्न आग्रह गर्दै संयुक्त मोर्चाबन्दी आश्वश्यक रहेको समेत बिज्ञप्तीमा भनिएको छ । प्रधानमंत्री र राष्ट्रपतिले चालेको कदमको प्रतिकारको बिकल्प नभएको पनि बिज्ञप्तीमा भनिएको छ ।