रेडक्रस प्रदेश २ द्वारा कोभिड व्यवस्थापनमा सहयोग

रेडक्रस प्रदेश २ द्वारा कोभिड व्यवस्थापनमा सहयोग

वीरगन्ज, १४ जेठ । नेपाल रेडक्रस सोसाइटी प्रदेश २ को कार्यालयद्वारा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई कोरोना महामारीमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । कोराना संक्रमणबाट बच्न र बचाउनका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री जिल्ला कोभिड व्यावस्थापन केन्द्रका संयोजक पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति विरेन्द्रराज कँडेलको सभापतित्वमा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रेडक्रस सोसाईटी प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाँले  प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर घिमिरेलाई सर्जिकल मास्क–२० हजार पिस, आक्सिजन कन्सन्टे«टर–३ सेट, व्यक्तिगत सुरक्षा सुट पिपिई–५०सेट गरि करिब ८ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।

साथै महामारीको समयमा समेत रक्तदान गराई विरामीहरुको लागि रगत आपूर्ति तथा एम्बुलेन्स सेवा, जनचेतना लगायतका रेडक्रस सोसाईटीले गर्ने विभिन्न कार्यको प्रजिअ घिमिरेले प्रशंसा गर्नुभयो । महामारीको समयमा रेडक्रसले ७७ जिल्लाबाटै मानवीय सेवा कार्यमा अग्रसर रहि कोभिड–१९ रोग रोकथामका लागि राहत एवं सुरक्षा सामाग्रीहरु हस्तान्तरण गर्दै आएकोमा प्रदेश २ को सबै जिल्लाहरुमा समेत सामाग्री हस्तान्तरण गरिने रेडक्रस प्रदेश नम्बर २ का अध्यक्ष मियाँले बताउनुभयो ।

विगतको लामो समयदेखि ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने नाराका साथ मानवीय सेवामा रेडक्रसको ठूलो सहयोग र योगदान रहँदै आएको कोरोना महामारीको पहिलो लहरमा समेत देशव्यापी सहयोग गरिएको र दोश्रो लहरमा समेत हातेमालो रहिरहने रेडक्रस पर्साका सभापति विरेन्द्र कंडेलले बताउनु भएको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराउनुभयो ।  जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा रेडक्रस प्रदेश २ का अधिकृत उमेश मिश्र, सुर्दशन श्रेष्ठ, पर्सा रेडक्रसका लेखाअधिकृत विरशम्सेर प्रसाद कुर्मी, राजन श्रीवास्तव, महम्मद आलम, मन्ताज मियाँ, लक्ष्मीनारायण राय लगायतको उपस्थिति रहेको थियो ।