आईपीएल क्रिकेटमा कोलकत्ता विजयी
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२१ मा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो ।
हैदराबादका मनिष पाण्डे ४४ बलमा २ चौका र ३ छक्का ६१ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन । युवा अलरान्डर अब्दुल समाद ८ बलमा २ छक्का सहित १९ रनमा अविजित रहे । अन्तिम बलमा आन्द्रे रसेललाई मनिष पाण्डेले छक्का प्रहार गरेपनि जितको लागि भने पर्याप्त थिएन ।
जोनी बेयरस्टो ४० बलमा ५ चौका र ३ छक्का सहित ५५ रनमा क्याच आउट भए । दोस्रो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले दीनेश कार्तिकबाट ओपनर तथा कप्तान डेविड वार्नरलाई ३ रनमा क्याच आउट गराएका थिए । लगत्तै तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर ऋद्धिमान शाहलाई ७ रनमा स्पिनर सकिब अल हसनले बोल्ड आउट गरेपछि हैदराबाद १०–२ को कमजोर अवस्थामा पुगेको थियो ।
खराब सुरुवात गरेको हैदराबादलाई तेस्रो विकेटका लागि मनिष र जोनी बेयरस्टोले ६७ बलमा ९२ रनको साझेदारी गर्दै जितको आशा जगाएका थिए । तर प्याट कमिन्सको १३ औं ओभरको अन्तिम बलमा बेयरस्टो नितेश रानाबाट क्याच आउट भएपछि हैदराबादको जित कठिन बनेको थियो । मोहम्मद नाबी १४ र विजय शंकर ११ रनमा आउट भए । कोलकाता तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । आन्द्रे रसेल, सकिब अल हसन र प्याट कमिन्सले १–१ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । कोलकाता ओपनर नितेश रानाले ५६ बलमा ९ चौका र ४ छक्का सहित सर्वाधिक ८० रनको योगदान दिए । राहुल त्रिपाठी २९ बलमा ५ चौका र २ छक्का सहित ५३ रनमा क्याच आउट भए । दिनेश कात्तिक ९ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।
कोलकातालाई ओपनर नितेश र सुभमन गिलले ७ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको अन्तिम बलमा स्पिनर राशिद खानले गिललाई १५ रनमा बोल्ड आउट गर्दै ओपनिङ साझेदारी तोडेका थिए ।
दोस्रो विकेटका लागि नितेश र राहुलले ५० बलमा ९३ रनको साझेदारी गरेपछि कोलकाताले बलियो योगफलको आधार तय गरेको थियो । तीव्र गतिका बलर टि नटराजनले १६ औं ओभरको दोस्रो बलमा राहुललाई विकेटकिपर ऋद्धिमान शाहबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । राशिद खानले आन्द्रे रसेललाई मनिष पाण्डेबाट ५ रनमा क्याच आउट गराए ।
नितेशलाई १८ औं ओभरको तेस्रो बलमा मोहम्मद नाबीले विजय शंकरबाट क्याच आउट गराएका थिए । लगत्तै अर्को बलमा कप्तान ओईन मोर्गन अब्दुल सामदबाट २ रनमा क्याच आउट हुन पुगे । स्पिनर मोहम्मद नाबीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । स्पिनर राशिद खानले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । टि नटराजन र भुवनेश्वर कुमारको नाममा १–१ विकेट रह्यो ।
कोलकाताले आफ्नो दोस्रो खेल मंगलबार मुम्बईसँग खेल्ने छ । हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरसँग बुधबार खेल्ने छ । एजेन्सी