सुध्रिएनन् वीरगन्ज महानगरपालिकाका कर्मचारी, घरबिदा लिएर आधादर्जन अधिकृतहरु भारत भ्रमणमा
वीरगन्ज, ८ असोज । झण्डै दुईदशक जनप्रतिनिधि विहिन हुँदा हामीमुहाली गरेका वीरगन्ज महानगरपालिका अधिकृत स्तरका कर्मचारीहरुका कारण बदनाम बनेको महानगरपालिकाको छवि जनप्रतिनिधि आएको चारबर्ष बितिसक्दा पनि अझै सुधार हुन सकेको छैन ।
महानगरपालिकामा कार्यरत भ्रष्ट र घुसखोर कर्मचारीहरुका कारणले वीरगन्ज महानगरपालिका सधैं बदनाम हुने गरेको छ ।
जनप्रतिनिधि विहिन अवस्थामा वीरगन्ज महानगरपालिकाका अधिकृत स्तरका कर्मचारीहरुले अफ्नो पद भन्दा एकतह माथिको तलब सुविधा लिएर निकै चर्चा कमाएका थिए । कर्मचारीहरुको खराब आँचरण कै कारणले महानगरपालिकामा पटक पटक अख्तियारले छापा समेत मार्ने गरेको छ ।
अहिले झण्डै ४० जना भन्दा बढी अधिकृत स्तरका कर्मचारीहरु महानगरपालिकामा भएपनि महानगरपालिकाको काम कारवाहीमा भने खासै परिवर्तन आउन सकेको छैन ।
जनप्रतिनिधिहरुले काम गर्न खोज्दा प्रमुख प्रशासकीय अधिकृतदेखि विभिन्न महाशाखा तथा शाखाका अधिकृतहरुले कानूनी झमेला देखाएर जनप्रतिनिधिहरुलाई नै काम गर्न नदिने गरेका छन् । ती अधिकृतहरुको अनुकुलता नभए कामै नगरिदिने र हुने काममा पनि अवरोध गर्ने परिपाटी महानगरपालिकामा रहदै आएको छ ।
वीरगन्ज महानगरपालिका कार्यालयमा आउने प्रमुख प्रशासकीय अधिकृतहरुले सेवा प्रवाहमा केही सुधार गर्न खोज्ने गरेका भएपनि आन्तरिक सेटिङ्गमा उनीहरुपनि लाग्ने गरेका कारण सुधार हुन नसकेको हो ।
पछिल्लो घटनामा वीरगन्ज महानगरपालिकाका आधा दर्जन जिम्मेवार शाखाका प्रमुखहरु घर विदा लिएर भारत भ्रमणमा गएका छन् । असार मसान्त सकिएपछि एकैपटक ६ जना अधिकृतले घर विदा लिएर भारत भ्रमणमा गएका हुन् ।
वीरगन्ज महानगरपालिका कार्यालयमा पहिलो पटक एकैचोटी कार्यालयका जिम्मेवार कर्मचारीहरु विदामा गएपछि शाखागत कार्यालय खाली भएका छन् । जसले कार्यालयमा काम लिएर आएका सेवाग्राही काम नै नगराई रितै हात फर्किेन बाध्य भएको गुनासो गरेका छन् ।
महानगरपालिका शाखागत प्रमुखहरु गएको असोज ७ देखि अगामी असोज १३ गते सम्मका लागी विदा लिएको वीरगन्ज महानगरपालिका कार्यालयले जनाएको छ । एक कर्मचारीका अनुसार असार मसान्त पछि नै भारत भ्रमणमा जाने योजना भएपनि अहिले असोजको पहिलो सातामा पुर्व योजना अनुसार घर बिदा लिएर भारत भ्रमणमा गएका हुन् ।
एक हप्ताका लागी विदा लिएको भएपनि कम्तिमा १० दिनमा फर्किेने योजना उनीहरुको योजना बनेको स्रोतको भनाई छ । महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला, आन्तरिक लेखा परिक्षण शाखा प्रमुख हरिशंकर कुर्मी, लेखा अधिकृत रुपनारायण राउत, शहरी पुर्वाधार बिकाश महाशाखा प्रमुख राकेश साह, प्रकाश अधिकारी, नायब सुब्बा राजेश गीरीले विदा लिएका छन् ।
पहिलो पटक वीरगन्ज महानगरपालिका कार्यालयका एकै पटक ६ जना जिम्मेवारी अधिकृत तहका कर्मचारी विदामा बसेको एक कर्मचारीले बताए । प्रमुख प्रशासकीय अधिकृत घर विदा लिएर भारत भ्रमणमा गएपछि महानगरपालिका कार्यालयको स्वास्थ्य तथा समाजिक महाशाखा प्रमुख अरुण महतोलाई अगामी १३ गते सम्मका लागि निमित प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी दिईएको छ ।
प्रमुख प्रशासकिय अधिकृत निरौला घर विदामा गएको जानकारी दिएपछि निमित प्रमुख प्रशासकिय अधिकृतको रुपमा आफुलाई जिम्मेवारी पाएको महतोले बताउनुभयो । निरौला एक हप्ताका लागी विदाको लिएपनि कार्यालयमा उपस्थित नभएसम्मका लागी कार्यालय प्रमुखको जिम्मेवारमा बस्ने गरी आफुलाई पत्र आएको बताउनुभयो ।