वीरगन्ज उद्योग वाणिज्य संघको टोलीद्वारा भन्सार विभागका महानिर्देशको ध्यानाकर्षण 

वीरगन्ज उद्योग वाणिज्य संघको टोलीद्वारा भन्सार विभागका महानिर्देशको ध्यानाकर्षण 

वीरगन्ज, ८ फागुन । वीरगन्ज उद्योग वाणिज्य संघको एक टोलीले आईतबार भन्सार विभागका महानिर्देशकलाई भेटेर ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष सुवोध कुमार गुप्ताको नेतृत्वमा गएको संघको टोलीले भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई भेटेर राष्ट्र बैंकले गरेको परिपत्रका कारण भन्सार पास हुन नसकी वीरगन्ज भन्सार, कोलकक्ता बन्दरगाह र विशाखापटनम बन्दरगाहमा गरी ४/५ हजार कन्टेनर रोकिएको जनाउदै परिपत्र गर्नुअघि शिपमेण्ट भएका कण्टेनरहरुलाई पूरानै नियमानुसार ल्याउन सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

राष्ट्र बैंकले शतप्रतिशत मार्जिनमा प्रतितपत्र खोलेर सामान मगाउँदा साना रकम तिरेर मालवस्तु आयात गर्ने आयातकर्ताहरुलाई कठिनाई भईरहेकोले यसले आपूर्ति व्यावस्था नै असहज र असन्तुलित भएको जानकारी गराएका छन् ।

सिमेण्ट उद्योगहरुलाई आवश्यक कच्चा पदार्थ फ्लाएसमा भारतीय पक्षले कुनै किसिमको भन्सार जाँचपास शुल्क नलिएपनि नेपाल भन्सारले त्यसको प्रति हजार टनको शुल्क लिने गर्दा यसले सिमेण्ट उद्योगहरुको उत्पादन लागत बढ्न गई उपभोक्तालाई सस्तोमा सिमेण्ट उपलब्ध गराउन नसकेको अवस्थामा यसतर्फ विचार गर्न पनि आग्रह गरेका छन् ।

त्यस्तै वीरगन्जको एकीकृत भन्सार जाँच चौकी र सुक्खा बन्दरगाह भन्सार कर्यालयमा एम्बुलेन्स, अग्नी नियन्त्रक वारुण यन्त्र, इन्टनेट सहितको वाईफाई जोन लगायतको व्यावस्था गर्नपनि माग गरेका छन् ।

संघका टोलीको माग सुनेपछि महानिर्देशक भट्टराईले वीरगन्ज उद्योग वाणिज्य संघले दिएको सुझावलाई सकारात्मक रुपमा लिएको बताउदै निजीक्षेत्रको गुनासो र समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने र नीतिगत समस्याको समाधानका लागि आवश्यक गृहकार्य गरी परिमार्जन र संसोधनका लागि भूमिका खेल्ने आश्वासन दिएको संघका उपाध्यक्ष हरि गौतमले जानकारी दिए ।

टोलीमा अध्यक्ष गुप्ता, उपाध्यक्ष गौतम, बरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, महासचिव मनोज कुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द गोयल लगायतको सहभागिता रहेको थियो ।