पार्टी नफुटाउने भनेर गीता छोएकोले नै एक्लै बाहिरिएँ  ः कमल थापा 

पार्टी नफुटाउने भनेर गीता छोएकोले नै एक्लै बाहिरिएँ  ः कमल थापा 

वीरगन्ज, १४ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गीता छोएर पार्टी नफुटाउने प्रतिबद्धता गरेकोले एक्लै राप्रपाबाट बाहिरिएको बताउनु भएको छ । वीरगन्जमा आज पत्रकार सम्मेलन गरेर उहाँले भन्नुभयो, “अन्याय, अपमान सहेर बस्छु भनेर गीता छोएको होईन । गलत प्रचार गरेर भ्रम फैलाईयो । ५० बर्षको मेरो राजनीति प्रभाव त रहन्छ नि !” 

उहाँले भन्नुभयो, “५०% भन्दा बढी केन्द्रीय सदस्यीय मेरो पक्षमा थिए । त्यहि गीता छोएर पार्टी नफुटाउने संकल्प गरेकै कारणले म एक्लै बाहिरिएँ ।” एकता गर्ने नाममा गलत प्रवृत्तिसँग सम्झौताले चुनाव चिन्ह पनि गुमाएको थापाको भनाई छ । आफूले परिकल्पना गरेको सक्रिय राजतन्त्र, राजनीतिक हस्तक्षेप गर्ने राजतन्त्र नभई अभिभावकीय भूमिकामा रहने रजतन्त्रमात्रै रहेको थापाको भनाई थियो ।

पहिले हिन्दु धर्म र राजतन्त्र आफ्नो एजेण्डा रहेपनि राजतन्त्र बोकेका कारण आफूलाई मत नआएकोले अब राजतन्त्र छाडेपछि खुला राजमार्ग जस्तै भएको बताउनुभयो । राप्रपा गठनपछि पहिलोपटक वीरगन्ज आएका थापाले पत्रकार सम्मेलनको आयोजना गरेर थापाले निहित स्वार्थका लागि विदेशीलाई गुहार्ने प्रवृत्तिले नेपाल विदेशी शक्तिको क्रिडास्थल बन्न सक्ने खतरा रहेको बताउनुभयो ।

धर्मनिरपेक्षको आडमा भईरहेको संगठित र योजनावद्ध धर्मपरिवर्तनले नेपाली समाजमा सयौंदेखि कायम रहै आएको धार्मिक तथा सांस्कृतिक सदभावलाई खल्बल्याएर देश धार्मिक द्वन्द्वमा जानसक्ने टड्कारो खतरा देखिएको पनि बताउनुभयो । पश्चिमा मुलुकको दबाव र प्रभावले धर्मनिरपेक्षता लेखिएको उहाँको दावी थियो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले छिमेकी मुलुकहरुसँगको कुटनीतिक सम्बन्ध कमजोर भएको बताउदै अन्तर्राष्ट्रिय स्तरमा मुलुको छवि विग्रिएको बताए । थापाले चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध सुधार हुने अपेक्षा गरिए पनि त्यय विषयमा सरकारको प्रष्ट धारणा नआएको बताउनुभयो । 

राप्रपा नेपालको धेरै महत्वकांक्षा नरहेको बताउदै थापाले स्थानीय तहको निर्वाचन आफ्नो पार्टी त्यति धेरै केन्द्रीत नहुने बताउदै मुख्य चासो संसदीय निर्वाचन भएकोले संसदीय चुनावबाट राष्ट्रिय पार्टीको रूपमा स्थापित गर्ने दावी गर्नुभयो । हिन्दु राष्ट्र राप्रपा नेपालको अविचलित प्रतिवद्धता रहेको जनाउदै जनताबाट प्राप्त गरेको  विश्वास कै कारणले सडकदेखि सदनसम्म हिन्दु राष्ट्र घोषणा गर्नका लागि संघर्ष जारी राखेको बताउनुभयो ।