शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी नभएसम्म मुलुक समृद्ध बन्दैन : अखिल क्रान्तिकारी अध्यक्ष तामाङ 

शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी नभएसम्म मुलुक समृद्ध बन्दैन : अखिल क्रान्तिकारी अध्यक्ष तामाङ 

वीरगन्ज, ३० भदौ । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिय (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रञ्जित तामाङले युवाहरुको शिक्षा, स्वास्थ्य र शिक्षाका लागि सरकारले ग्यारेण्टी गर्नुपर्ने बताउनु भएको छ ।


संगठनको पर्सा जिल्लाको छैठौं जिल्ला सम्मेलनको उदघाटन समारोहमा बोल्दै शिक्षा, स्वास्थ्य र रोजगारी व्यावस्था नभएसम्म देशको समृद्धि र विकास हुन नसक्ने बताउनुभयो ।

उहाँले सत्तारुढ गठबन्धन दलका पाँच विद्यार्थी संगठनले पछिल्लो पटक पाँचवटै दलका शीष नेतृत्वलाई भेटेर विद्यार्थीको माग सम्बोधन गर्नुपर्ने माग गरेको बताउदै माग पूरा नभए विद्यार्थीले फेरी आन्दोलन गर्नुपर्ने दिन आउने बताउनुभयो ।


नेकपा माओवादी पर्साका अध्यक्ष विजय महतोले देशको विकास गर्ने शक्ति नै विद्यार्थी र युवाहरु रहेकोले युवा विद्यार्थीहरुलाई राजनीतिक नेतृत्वमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।

नेकपा माओवादी वीरगन्ज महानगर इन्चार्ज रहबर अन्सारीले मुलुकमा अन्याय, अत्याचार, विभेदका विरुद्ध सधैं विद्यार्थीहरुले गरेको आन्दोलनले नै परिवर्तन सम्भव भएको बताउदै विद्यार्थीहरु कुनै नेताका झोले हुनुभन्दा आफै नेतृत्व लिन सक्ने क्षमता राख्नुपर्ने बताउनुभयो ।


अखिल क्रान्तिकारीका जिल्ला संयोजक कविराज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव गजेन्द्र देव, केन्द्रीय सदस्य एवं प्रदेश २ सहसंयोजक प्रभाकर गुप्ता, केन्द्रीय सदस्य एवं स्वयंसेवक विभाग प्रदेश २ संयोजक इश्क कुमार, केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज जुवैर आलम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पर्सा संहसंयोजक संदीपविक्रम साहले संचालन गरेको कार्यक्रममा पार्टीका जनवर्गीय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु र पर्साका १४ वटै स्थानीय तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यसैबीच सम्मेलनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि विद्यार्थी नेताहरु बन्दसत्रमा छलफल गरिरहेका छन् । वर्तमान संयोजक कविराज पटेललाई नै नेतृत्वमा दोहोर्‍यउने कि नयाँ नेतृत्वमा ल्याउने भन्ने विषयमा विद्यार्थी नेताहरुबीच छलफल भईरहेको छ । पर्साको संयोजकमा पुनः पटेललाई नै दोहोर्‍याउने सम्भावना रहेको छ ।