वीरगन्ज हेल्थपोष्टमा नियमित खोपबाट बालबालिकाहरु बञ्चित 

वीरगन्ज हेल्थपोष्टमा नियमित खोपबाट बालबालिकाहरु बञ्चित 

वीरगन्ज, २१ साउन । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा रहेको वीरगन्ज हेल्थ पोष्टमा कोरोना विरुद्धको जोनसन एण्ड जोनसनको खोप लगाउनेहरुका कारण बालबालिकाले पाउनुपर्ने नियमित खोपबाट बञ्चित भएका छन् । कोरोनाको खोप र बालबालिकाको नियमित खोप उत्तिकै महत्वको भएपनि बालबालिकाको खोपलाई प्राथामिकतामा राख्नुपर्र्ने ठाउँमा कोरोना विरुद्धको खोप लगाउनेहरुलाई बढी प्राथामिकता दिदाँ बालबालिकाले नियमित खोप लाउन नपाएको अभिभावकहरुले गुनासो गरेका छन् ।

वीरगन्ज हेल्थ पोष्टमा महिनाको हरेक विहीबार नियमित खोप लाउने गरिएकोमा साउन २१ गते बिहीबार बालबालिकाको खोप दिउँसो एक बजेसम्म मात्रै संचालन गरेर बन्द गरेपछि बालबालिका खोप पाउनबाट बञ्चित भएका छन् । दिउँसो १ बजे नै बालबालिकाको नियमित खोप बन्द गरेपछि बालबालिका लिएर हेल्थपोष्टमा गएका अभिभावकहरु त्यसै घर फर्कन परेका छन् ।

हेल्थपोष्टका इन्चार्ज सचितानन्द जयसवालले बालबालिकाको खोप १ बजे नै बन्द भएको भन्दै बालबालिका लिएर गएका अभिभावकहरुलाई फर्काइदिएका थिए । बालबालिकाको खोपमा जनशक्ति त्यति धेरै आवश्यक नभएपनि दरबन्दी भन्दाबढी जनशक्ति भएको हेल्थपोष्टमा जनशक्ति अभाव भएको भन्दै बालबालिकाको खोप बन्द गरेर बालबालिकालाई खोप लाउनबाट बञ्चित गराएका हुन् ।

हेल्थपोष्टमा खोप बन्द गरेर उनले आफु कहाँ आउने बालबालिकालाई १३ नम्बर वडाको खोपकेन्द्र पठाएका छन् । वीरगन्ज महानगरपालिकाका सामाजिक तथा जनस्वास्थ्य महाशाखा प्रमुख अरुण कुमार महतोले कोरोनाको खोप कार्यक्रम राखिएपनि एक छेऊमा बालबालिकाको नियमित खोपलाई पनि निरन्तरता दिनुपर्नेमा हेल्थपोष्ट इन्चार्जले गल्ती गरेको बताउनुभयो । उहाँले दरबन्दी भन्दा बढी जनशक्ति भएरपनि बालबालिकाले खोप लाउन नपाउनु व्यावस्थापकीय कमजोरी रहेको बताउनुभयो ।