रेडियो संचालन चुनौतीपूर्ण भएपनि समाजको लागि महत्वपूर्ण छ : नगर प्रमुख सरावगी
कृष्णउदास खनाल
वीरगन्ज, १३ चैन । वीरगन्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले सामुदायिक रेडियोले आम नागरिकहरुको मन छुन सफल भएको बताउनुभएको छ । सामुदायिक रेडियो नारायणी एफएमले नागरिकहरुको आवाज बुलन्द गरेर समाजलाई सूसुचित गरेको भन्दै प्रशंसा समेत गर्नुभएको छ ।
नारायणी एफएमका पूर्व अध्यक्ष समेत रहनु भएको मेयर सरावगीले एफएम चलाउनु निकै चुनौतीपूर्ण कार्य भएपनि यस क्षेत्रको लगानीले समाजलाई फाइदा पुगेकोमा आफू खुसी रहेको बताउनुभयो । रेस नेपालको पदस्थापना समारोहलाई बिहीबार वीगन्जमा संबोधन गर्दै मेयर सरावगीले अझै सामुदायिक रेडियोहरु जनमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
रेस नेपालका कार्यकारी अध्यक्ष गोबिन्द देवकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हालै निर्वाचित रेस नेपालका पदाधिकारी तथा सदस्यहरुलाई सो अवसरमा पदस्थापना गराइनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
२०६० सालमा स्थापना भएको रेस नेपाल मार्फत नै नारायणी एफएम १०३।८ मेजाहर्ग २०६३ साल कात्तिकबाट प्रसारण जारी रहेको छ । कार्यक्रममा बोल्नुहुँदै रेस नेपाल एवम् नारायणी एफएमका कार्यकारी अध्यक्ष गोबिन्द देवकोटाले नारायणी एफएमलाई अझै जनमुखी बनाउदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।
हिजै बसेको संचालक समितिको बैठकले अनुप अग्रवालको संयोजकत्वमा लेखा समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा संदीप अग्रवाल र अन्य एकजना महिला पछि नियुत्त गर्ने रेस नेपालका सचिव अरविन्द सिंहले जानकारी दिनुभयो ।