विश्व एड्स दिवसमा जनचेतनामूलक र्‍याली, पर्सामा मात्रै पाँचसय भन्दा बढी एड्स संक्रमित जीवित 

विश्व एड्स दिवसमा जनचेतनामूलक र्‍याली, पर्सामा मात्रै पाँचसय भन्दा बढी एड्स संक्रमित जीवित 

वीरगन्ज, १५ मंसिर । पर्साको वीरगन्जमा पनि विश्व एड्स दिवसको अवसरमा जनचेतनामूलक र्‍याली निकालिएको छ । ‘असमानता हटाऔं, एड्सको अन्त्य गरौं’ भन्ने नारा सहित वीरगन्जको घण्टाघरबाट सुरु भएको र्‍याली लिंकरोड, बसपार्क हुदै पुनः घण्टाघरमा फर्किएर कोणसभामा परिणत भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साको मुख्य आयोजना तथा वीरगन्ज महानगरपालिका र विभिन्न गैर सरकारी संघ सस्ंथाहरुको सहआयोजनामा जनचेतनामूलक र्‍याली निकालिएको हो । पर्सा जिल्लामा मात्रै साढे ५ सयको हाराहारी जीवित संक्रमितहरु रहेको विधार्थी जागरन मंच वीरगंजका कार्यक्रम संयोजक निरज साहले बताउनुभयो । सन् २०२४ सम्ममा ९५% एचआईभी लागेका व्यतिmहरु खोजी सक्ने लक्ष्य सरकारको रहेको छ ।  

अस्पतालहरुमा एचआईभीसँग सम्बन्धित लक्षणहरु देखिएमा तत्काल परीक्षण गर्ने गरिएको छ  । त्यसमा असुरक्षित यौन सम्पर्कबाट ९० प्रतिशत भन्दा बढी संक्रमित भएको पाईएको साहले बताउनुभयो । एचआईभी संक्रमित व्यतिmहरुलाई स्वास्थ्य संस्थाहरुमा उपचारमा भेदभाव हुने गरेको संयोजक साहको गुनासो छ । स्वास्थ्यकर्मीहरु एचआईभी संक्रमितलाई उपचार गर्न हिच्किचाउने गर्दा उपचारमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

एड्स नियन्त्रण र रोकथामका लागि स्थानीय तहले बजेट विनियोजन गरेर कार्यक्रम संचालन गर्दा प्रभावकारी हुने उहाँको भनाई छ । एचआईभी संक्रमितहरुका लागि स्वास्थ्य उपचारका सुविधाहरु निःशुल्क गर्नुपर्ने र स्थानीय तहहरुले एचआईभी संक्रमितहरुका लागि बजेट पनि छुट्याउनुपर्ने उनीहरु माग छ ।

सरकारले एचआईभी संक्रमितहरुको लागि निःशुल्क औषधि उपचारको व्यावस्थाका लागि नारायणी अस्पतालमा एआरटी सेवा बजेट दिएको छैन । सहयात्री समाज, विद्यार्थी जागरण मञ्च (विजाम), करुणा भवन, बारा प्लस लगायतका संस्थाहरुले एचआईभी विरुद्धको कार्यक्रमहरु संचालन गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयहरुमा भने सरकारले कार्यक्रमको कुनै बजेट दिएको छैन । टिबीको परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीहरुमा आउनेहरुको नै परीक्षण गर्ने, सुरक्षित मातृत्वका लागि प्रसुती गराउन आउनेहरुको मात्रै परीक्षण गर्ने गरिएको छ । त्यसको परीक्षणको लागि आवश्यक उपकरण किट्स भने जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरेको छ ।

एचआईभी संक्रमितहरुको उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा २०६२ सालदेखि एआरटी सेण्टर स्थापना गरिएको छ । एआरटी सेण्टरमा २०६२ सालदेखि २०७८ कार्तिक महिनासम्ममा १४९८ जना एचआईभी संक्रमित फेला परेका छन् । उनीहरुलाई एआरटी सेण्टरबाट नियमित रुपमा औषधि उपचार गराईरहेको छ ।

त्यसमध्य अहिले बीचमा औषधि छोडेकाहरु ६२ जना रहेको एआरटी सेण्टरमा कार्यरत स्टाफ नर्स सरिता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एआरटी सेण्टरमा एचआईभी विरुद्धको औषधि खाईरहेकाहरु अन्यत्र पनि गएका छन् । उनीहरुको संख्या २८८ जना रहेका छन् । संक्रमित मध्य १३४ जनाको मृत्यु भएको छ । अहिले  १०३२ जनाले निरन्तर एड्स विरुद्धको औषधि खाई रहेका छन् ।