आज काग तिहार र धन्वन्तरी जयन्ति मनाईदै
वीरगन्ज, ६ कार्तिक । यमपञ्चक शुरु भएसँगै मनाईने तिहारको पहिलो दिन काग तिहार कागलाई विभिन्न मिठा परिकारहरु खान दिएर मनाईदै छ । तिहारको पहिलो र महत्त्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ ।
काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात् सन्देश प्रवाही प्राणी, काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा मान्यता रही आएको छ ।
कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पंछीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ ।
तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
को हुन धन्वन्तरी ?
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदै छ ।
देवताहरूको चिकित्सक या भनौँ आयुर्वेदका भगवान् धन्वन्तरिको आज जन्म जयन्ती। हामी सबैले आयुर्वेदिक औषधीहरूको बारेमा त सुनेकै छौ।
आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो तर अहिले सम्म यसको प्रभाव थोरै पनि कम भएको छैन। यिनै भगवान् धन्वन्तरीको मानवतालाई अनुपम देन हो, आयुर्वेद ।
समुन्द्र मन्थन र भगवान् धन्वन्तरी
आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान् धन्वन्तरी अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ।
आयुर्वेद “आयु र वेद“गरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले ’आयुको ज्ञान’ भनेर बुझिन्छ । आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन् ।
तर, राज्यले भने अझै आयुर्वेद चिकित्सा पद्धतिलाई प्राथामिकता नदिएको आयुर्वेदसँग सम्बन्धित व्यक्तिहरुको गुनासो छ । सन् २०१९ को अन्त्यमा शुरु भएको विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा प्रयोग गरिएको आयुर्वेद औषधिले यसको महत्वलाई अझ बढाएको छ ।