भन्सार राजस्व छली गरेको पशुपति ट्रान्सपोर्टको ट्रक पक्राउ
वीरगन्ज, २२ भदौ । भन्सार राजश्व छली गरेर भित्र्याइएका कपडा, विद्युतीय सामान, मोटरपार्टसलगायतका सामान सहितको दुईवटा ट्रक पर्सा प्रहरीले बरामद गरेको छ । पशुपति ट्रान्सपोर्टबाट बुकिङ भई चितवन जाँदै गरेका ना ३ ख ५१६५ र ना ३ ख ५५२५ नम्बरको दुईवटा ट्रक सुराकीको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज १४ गण्डकबाट बरामद गरेको हो ।
वीरगन्जबाट चितवन जाँदै गरेका दुवै ट्रक गण्डक चोकमा प्रहरीले नियमित चेकजाँचका लागि रोक्न खोज्दा दुवै ट्रकका चालक सामान सहितको ट्रक छाडेर फरार भएपछि प्रहरीले दुवै ट्रक जिल्ला प्रहरी कार्यालयमा ल्याएर खानतलासी गरेको थियो ।
खानतलासीको क्रममा ट्रकमा भन्सार राजश्व तिरेको पुरानो मितिको प्रज्ञापनपत्र भेटिएको तर सामानको बीलविजक भने एक दुई दिन यताको मितिमा काटिएको देखिएकाले ट्रकमा भएका सामानहरु तस्करी गरेर ल्याइएको हुन सक्ने आशंकामा नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताउनुभयो ।
ना.३ ख ५१६५ नम्बरको ट्रकमा मिति २०७७ माघ २२ गतेको भेटिएको प्रज्ञापनपत्रमा र मिति २०७८ साउन २१ गते उल्लेख गरिएको प्रज्ञापनपत्रमा ना ३ ख ५५२५ नम्बरको ट्रकमा भेटिएको प्रहरीले जनाएको छ । तर, दुवै ट्रकमा बरामद सामानको बिलबिजकमा मिति भने यहि भदौ १९ र २० गतेको उल्लेख छ ।
प्रज्ञापनपत्र र बिलबिजकको मितिबीच भिन्नता देखिएकाले ट्रकमा रहेका सामान तस्करीको भएको प्रहरीको दावी छ । प्रहरीले सामानसहितको दुवै ट्रक ८० लाख रुपैयाँको मुल्यांकन गरी बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा आवश्यक अनुसन्धान कारवाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।