पर्सामा २६६ जनाले कोरोना जिते, आज मात्रै ५८ जना कोरोना मुक्त
वीरगन्ज, २२ बैशाख । दोश्रो चरणको कोरोना भाईरस (कोभिड–१९) संक्रमितहरु निको हुने क्रम पनि बढेको छ । दोश्रो भेरियण्टको संक्रमण भएकाहरु मध्य पर्सामा अहिलेसम्म २६६ जना संक्रमण मुक्त भएका छन् ।
कोरोना संक्रमण पोजिटिभ भएर विभिन्न अस्पताल र होम आईशोलेसनमा बसेकाहरु २६६ जना संक्रमण मुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत एवं कोभिड फोकल पर्सन विनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार मात्रै पर्साको विभिन्न अस्पतालमा उपचाररत ५८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
दोश्रो चरणमा जम्मा १ हजार ८ सय ९३ जना संक्रमित मध्य अहिले विभिन्न अस्पतालहरुमा २०४ जना उपचाररत रहेका छन् । ३० जनाको मृत्यु भएको छ । त्यस्तै १ हजार ४ सय ९१ जना संक्रमितहरु होम आईशोलेसनमा रहेको कोभिड फोकल पर्सन श्रीवास्तवले बताउनुभयो ।
यस्तै नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासका अनुसार बुधबार नारायणी अस्पतालबाट ८ जना कोरोना संक्रमण मुक्त भएका छन् । दुईजनाको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर भएकोले रिफर गरिएको छ । २ जना निरन्तर हावाको दबाव दिनुपर्ने (सीप्याप) ४ जना हाई फ्लो नजल क्यानुला गरी ६ जना भेण्टिलेटरमा उपचार भईरहेको छ ।