तस्करी नियन्त्रणमा आक्रामक बन्दै सशस्त्र प्रहरी, खाद्य र पेय पदार्थ बोकेको गाडी नियन्त्रणमा 

वीरगन्ज, ११ फागुन । सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि मधेस प्रदेशमा खटिएको सशस्त्र प्रहरीको आक्रामक शैलीले तस्करहरु हैरान भएका छन् ।

राजस्व चुहावट नियन्त्रणका लागि आक्रामक बनेको सशस्त्र प्रहरीले सीमाबाट हुने तस्करीको सञ्जाल नै ध्वस्त बनाउन लागेको छ । नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी मातहतको सशस्त्र प्रहरी टोलीले राजस्व छलिको खाद्य तथा पेय पदार्थ र गरगहना सहित मान्छे पनि पक्राउ गरेको छ । सशस्त्र प्रहरीले सिरहाको लहानबाट सशस्त्र चाँदीको तयारी गहना सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी छिन्नमस्ता मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर  गण हेडक्वाटरबाट खटिएको प्रहरी टोलीले सिरहाको लहान नगरपालिका वडा नम्बर ७ दुर्गा मन्दिर नजिकैबाट चाँदीको तयारी गहना सहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।  

भारतको मधुवनी बिहार राजनगर वडा नम्बर १२ आमदा बस्ने ३८ बर्षिय रंजित रायलाई चाँदीको गहना सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी मुख्यालय छिन्नमस्ताका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

तयारी चाँदीको गहना सहित पक्राउ परेका भारतीय नागरिक रायलाई अवाश्यक कारवाहीको लागी माडर भन्सारमा बुझाइएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले जानकारी दिनुभयो । त्यस्तै सर्लाहीको मलंगवाबाट राजस्व छलिको सामान लोड गरेको एउटा पिकअप भ्यान बरामद गरेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १० गमहरिया स्थित मलंगवाबाट नवलपुर सडक खण्डमा ना ८ ख १४४८ नम्बरको महिन्द्रा पिकअप भ्यान सहित त्यसा लोड भएको एकसय बोरा चिनी, ५ कार्टुन पेय पदार्थ माजा र रेडबुल, तथा २० बोरा प्याज पनि बरामद गरेको छ ।

राजस्व छलि गरि सामान लोड गरिएको सूचनाका आधारमा सशस्त्र प्रहरीले गस्ती गर्दै जाँदा फेला परेको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताउनुभयो । सामान सहित नियन्त्रणमा लिईएको पिकअप भ्यान र गरगहना सहित पक्राउ परेका व्यक्ति सहित आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा जिम्मा लगाईएको सशस्त्र प्रहरीले जनाएको छ ।