गुम्मीमा पहिरो खस्दा एकै परिवारका तीनजनाको मृत्यु 

गुम्मीमा पहिरो खस्दा एकै परिवारका तीनजनाको मृत्यु 

वीरगन्ज, ६ असोज । अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर गएराति गुल्मीमा एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार  रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको हो ।  

तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको डीएसपी पाण्डेले बताउनुभयो ।

गएराति करिब दुई बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोली घटनास्थल पुगेको थियो । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।