काठ तस्करीमा संलग्न तीनजना पक्राउ
वीरगन्ज, ४ चैत । पर्साको राष्ट्रिय वनबाट अवैध रुपमा काठ कटान गरी तस्करीमा संलग्न तीनजनालाई वन गस्ती टोलीले पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका अन्तर्गत पर्ने राष्ट्रिय जंगलबाट ३ जना पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उमेश महतो, राजेश महतो, सरोज मुखिया रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
१२ जनाको तस्कर समूहले पर्सा राष्ट्रिय निकुञ्जको चरभैया जंगलमा काँचो सालको रुख काट्दै गरेको अवस्थामा पर्सा राष्ट्रिय निकुजको टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तीन जनाको बयानका आधारमा बाँकी ९ जनामाथि अनुसन्धान भईरहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
त्यस क्षेत्रमा भथौडा, गदीयानी, कंचनपुर बैरिया, सोनवर्षा, देउरिया, निचुटा, जगरनाथपुर लगायतको क्षेत्रबाट काठ तस्करी व्यापक रुपमा भईरहेको स्थानीयले बताएका छन् । पक्राउ परेकाहरुलाई पर्सा राष्ट्रिय निकुञ्जको कार्यलय आधारभारमा राखिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश अधिकारीले जानकारी दिनुभयो ।