राजेशमान सिंह औपचारिक रुपमा एमालेमा प्रवेश, भन्छन्, ‘बाटो मात्रै फेरेको गन्तव्य होईन’
वीरगन्ज, २८ माघ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सहितका नेता कार्यकर्ताहरु औपचारिक रुपमा एमालेमा प्रवेश गरेको जनाएका छन् । मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समसामयिक राजनीतिक घटनक्रमको विषयमा छलफल मात्रै भएको र आफूखुशी व्याख्या नर्गन आग्रह गर्नुभएका नेता सिंहले शुक्रबार पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा एमालेमा प्रवेश गरेको जानकारी दिनुभएको हो ।
मधेशीको हक अधिकार स्थापित गराउनकै लागि एक दशकभन्दा लामो समयदेखि मधेशवादी दलमा आबद्ध भई अग्रणी मोर्चामा रहेर योगदान दिएको र राज्यलाई घुँडा टेकाउनका लागि फरक फरक समयमा भएका सवैखाले आन्दोलनमा सहभागि भएर लामो समय नाकाबन्दी पनि गरेको स्मरण गर्दै परिवर्तनको भोक र समानताको लागि मधेशी जनताले गरेको पुण्य आन्दोलनलाई मधेशवादी दलका शीर्ष नेताले हरेक पटक कुर्सी सँग सौदाबाजी गरेको आरोप लगाउनुभयो ।
शहिदको संख्यासँग मन्त्रालयको भागबण्डा मिलाएको, एक पटककै आन्दोलनमा पूरा हुनुपर्ने मागहरुलाई किस्ता किस्तामा भँजाईराख्न, मधेश र मधेशीको नाममा आजसम्म पनि उनीहरुको दोकान चलिरहेको भन्दै नेतृत्वलाई पटक पटक सजग गराएको, खबरदारी गरेको भएपनि नेतृत्व नसच्चिएपछि वैकल्पिक राजनीतिको बाटो रोजेको बताउनुभयो ।
मधेश आन्दोलनले मधेश सरकारको स्थापना गरेपनि त्यसले पनि मधेशमा चाहेजस्तो परिणाम दिन नसकेको निष्कर्ष सिंहको छ ।मधेशी जनताले आफ्नो सरकार भएको कहिल्यै महशुस गर्न नसकेको, मधेश सरकार चरम भ्रष्टाचार, बेथिति, विसंगति, सत्ता र भत्ताको व्यवस्थापनमा मात्रै केन्द्रित भएको आरोप उहाँको छ ।
मधेस आन्दोलनबाट सरकार स्थापित भए शहिद परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेपनि शहिद परिवारले ५० लाख नपाएको, घाईते अपांगहरुको उचित व्यवस्थापन नभएको र मधेश सरकार पनि पुर्ण रुपमा असफल भएको महशुस गरेको पत्रकार सम्मलेनमा सिंहले बताउनुभयो ।
दलभित्रकै यतिधेरै विभेद र उपेक्षा सहेर नेतृत्वको गलत कदमहरु टुलुटुलु हेरेर बस्न नसकेर नेकपा एमालेमा प्रवेश गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । ६/७ वटा टुक्रामा विभाजित भएका मधेशवादी दलहरु एक ठाउँमा आउँदा राम्रो काम हुन्छ भन्नेमा अपेक्षा गरिएपनि आफ्नै निहित स्वार्थ र गुटउपगुटको लडाईमा फेरी पनि मधेशवादी दलहरु टुक्रैटुक्रामा विभाजन हुने संकेत देखिएको र यहि अवस्थामा निर्वाचनमा जाँदा त्यसको परिणाम र आकार झन सानो हुने अनुमान आफूहरुको रहेको बताउनुभयो ।
यद्यपि मधेशको मुद्धा भने नछोडेकाले बाटो मात्रै परिवर्तन गरेको तर, गन्तब्य नफेरेको बताउनुभयो । अब नेकपा एमाले मार्फत फरक बाटोबाट मधेशको माग सम्बोधन गर्ने जनाउनु भयो । सिंहसँगै पूर्व राजपाका अध्यक्ष प्रेमबाबु पटेल, वडा नम्बर ३ का वडा अध्यक्ष वैजु स्वर्णकार, युवा नेता मूकेश द्विवेदी, उमेशलाल सहनी लगायतका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतको उपस्थिति रहेको थियो ।