नारायणी अस्पतालमा ७५ बर्षीय वृद्धको कोभिड संक्रमणका कारण मृत्यु
वीरगन्ज, २९ माघ । नारायणी अस्पतालमा एकजना ७५ बर्षीय कोभिड संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २० अपौनीका पुरुषको कोरोना संक्रमणका कारण हिजो साँझ साढे सातबजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।
कोभिड निमोनिया भएको उनको श्वासप्रश्वास प्रणाली नै निस्क्रिय भएको डा.सिंहले बताउनुभयो । एमएसी अस्पतालमा उपचाररत उनलाई माघ २७ गते बिहीबार नारायणी अस्पतालमा रिफर गरिएको थियो । सोही दिन उनको एण्टिजेण्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनले कोरोना विरुद्धको खोप समेत नलगाएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले बताउनुभयो । यस्तै नारायणी अस्पतालमा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । हिजो संकलन गरिएको ६१ वटा स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ८ जनामा मात्रै कोरोना संक्रमण भेटिएको डाक्टर उदयनारायण सिंहले बताउनुभयो ।
२७ बर्षदेखि ७५ बर्ष उमेर समूहका ७ जना पुरुष र एकजना महिला गरी ८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको डाक्टर सिंहले बताउनुभयो । पछिल्लो समयमा वीरगन्जमा पनि कोरोना संक्रमण दर घट्दै गएको छ ।