पर्सामा हिंसा न्यूनीकरणमा सञ्जाल थप सक्रिय बन्दै
वीरगन्ज, १५ साउन । पर्सा जिल्लामा हुने विभिन्न किसिमका हिंसा न्यूनीकरणका लागि जिल्ला सञ्जाल सक्रिय हुने भएको छ । महिला हिंसा न्यूनीकरण जिल्ला सञ्जालको गठन पछि स्थानीतहहरुको सहयोगमा कोष समेत स्थापना गरिसकिएको र यसलाई थप प्रभावकारी बनाउने शुक्रबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले जिल्लामा लैंगिक हिंसा, घरेलु हिंसा लगायतको न्यूनीकरणका लागि सबै सरोकारवालाहरुलाई जिम्मेवार बनाउने गरी विभिन्न निर्णय गरिएको छ । सञ्जालका अध्यक्ष एवं पर्साका प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोष स्थापनामा जम्मा भएको रकमलाई सबैभन्दा बढी ब्याज दिने बैंक तथा वित्तीय संस्थामा मुद्दती खाता संचालन गर्ने, कोषमा रकम दिन प्रतिवद्धता जनाएका स्थानीय तहहरुबाट अझै रकम नआएकोले उक्त रकम जम्मा गर्नका लागि स्थानीय तहहरुलाई लिखित रुपमा पत्राचार गर्ने निर्णय गरेको छ ।
त्यस्तै कोष सञ्चालनका लागि कार्ययोजना र कार्यविधि निर्माण गर्ने, हिंसा पीडित महिलाहरुको सुरक्षाका लागि निर्माण गरिएको सुरक्षित गृहमा राख्दा लाग्ने खर्च आवश्यकता अनुसार कोषबाटै खर्च गर्ने निर्णय गरिएको सञ्जालका अध्यक्ष एवं प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
समाजमा हुने हिंसा न्यूनीकरणका लागि अहिले स्थानीय तहका जनप्रतिनिधिहरुको सबैभन्दा ठूलो जिम्मेवारी भएपनि अझै प्रहरीकोमा हिंसाका घटनाहरुको मुद्दा आउने गरेकोले यसलाई स्थानीय स्तरमा नै समाधान गर्नका लागि जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने, हिंसा पीडित महिलाहरुका लागि मनोसामाजिक परामर्शको व्यावस्था, निःशुल्क कानूनी सहायता लगायतको आवश्यकता पर्ने हुँदा त्यसको लागि पनि परामर्शदाताहरुको खोजी गर्ने निर्णय समेत भएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
प्रहरी उपरीक्षक पाण्डेको कार्यकक्षमा भएको बैठकमा सञ्जालका कोषाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, केन्द्रीय सदस्य गोपाल केडिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल, प्रल्हाद कार्की, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शालिकराम प्रसाद, अधिवक्त प्रतिमा चौरसिया, प्राध्यापक विरेन्द्र साह, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौंगाई, ग्रिनसिटी सामुदायिक केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान लगायतको उपस्थिति रहेको थियो ।