पर्सामा निर्वाचनको गतिविधि शान्तिपूर्ण : मुख्य निर्वाचन अधिकृत पौडेल 

पर्सामा निर्वाचनको गतिविधि शान्तिपूर्ण : मुख्य निर्वाचन अधिकृत पौडेल 

वीरगन्ज । पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले पर्सामा अहिलेसम्म शान्तिपूर्ण रुपमा निर्वाचनको गतिविधिहरु भईरहेको बताउनु भएको छ । वीरगन्ज महानगरपालिका सहित पर्साको १४ वटै पालिकाहरुमा शान्तिपूर्ण रुपमा उम्मेदवार मनोनयन दर्ता, उम्मेदवारमाथिको दावी विरोध तथा नामावली प्रकाशन र चुनाव चिन्ह वितरण गर्दासम्म कुनैपनि अप्रिय घटना नभई शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन आयोगले लागू गरेको आचार संहिता उल्लंघन गरेको मौखिक जानकारी आउना साथ तत्काल कारवाहीको लागि निर्देशन दिईएको पनि बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म आचार संहिता उल्लंघनको लिखित उजुरी नआएको बताउदै मौखिक रुपमा आएका उजुरीहरुको तत्काल छानविन गरी कारवाही गरिएको र आचार संहिता उल्लंघन नगर्न सचेत पनि गराईएको बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वीरगन्ज महानगरपालिकाको मेयरका लागि राजनीतिक दल र स्वतन्त्र गरी ३० जना, उपमेयर १० जना, ३२ वटै वडाका अध्यक्ष, सदसय, महिला, दलित महिला सदस्य पदमा उम्मेदवारी परेको र सबैलाई उम्मेदवारको परिचय पत्र वितरण गरेको पनि बताउनुभयो । आउने शुक्रबारबाट पर्साका ४०४ वटा मतदान केन्द्रका ४०४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई एकदिने तालिम दिने तयारी गरिएको पनि बताउनुभयो ।

उहाँले अहिले सम्म शान्तिपूर्ण रुपमा हुने संकेत प्राप्त भएको पनि बताउनुभयो । उम्मेदवारको प्रचार प्रसारमा ठूलो आवाजको स्पीकर, ब्यानर, पम्प्लेट, गाम्छा, टोपी, ब्याच लगायतका निर्वाचन आचार संहिताले बन्देज गराएका गतिविधिहरु मौखिक रुपमा जानकारी आउने र तत्कालै सुरक्षा निकायसँगको समन्वयमा नियन्त्रण गरिएको पनि बताउनुभयो ।

आचार संहिता भनेको आफैले आफैलाई नियममा बाध्न सिद्धान्त भएकोले हरेक व्यक्तिले पालना गर्नु नागरिक दायित्व भएको पनि उहाँले बताउनुभयो । निर्वाचन सम्बन्धी सूचना सहज रुपमा उपलब्ध गराउनका लागि प्रत्येक स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयहरुलाई सहायक निर्वाचन अधिकृतलाई सूचना अधिकारी तोक्ने व्यावस्था गर्न निर्देशन गरिएको जानकारी दिनुभयो ।

निर्वाचन आचार संहिता प्रभावकारी कार्यान्वयन र कारवाहीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गर्नुपर्ने बाहेकका अन्य सूचना उपलब्ध गराउने विषयमा निर्वाचन अधिकृतहरुलाई अधिकार रहेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।