पत्रकारहरुकै साझा संस्था महासंघमाथि धावा नबोल्न केन्द्रीय सचिव चौहानको चेतावनी

पत्रकारहरुकै साझा संस्था महासंघमाथि धावा नबोल्न केन्द्रीय सचिव चौहानको चेतावनी

वीरगन्ज, २ पुुस । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघमाथि धावा नबोल्न चेतावनी दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको २५ औं वार्षिक साधरणसभाको प्रमुख अतिथिको रुपमा उदघाटन गर्दै केन्द्रीय सचिव चौहानले कोही बाहुबल र धनको घमण्डमा व्यावसायिक पत्रकारिता पेशालाई नै बदनाम गर्ने गरी र सिंगो महासंघमाथि नै धावा बोल्ने काम गरे महासंघ चुप लागेर नबस्ने बताउनुभयो ।

समाजमा सम्मानित र मर्यादित पेशा पत्रकारिताको मूल्य र मान्यतामा रहेर पत्रकारिता गर्न पनि उहाँले सबै सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । उद्घाटनसत्रलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य केसी लामिछानेले पत्रकारिताको मर्म र भावना भन्दा पक्षधरताको बढी वकालत गर्ने प्रवृत्ति बढ्दै गएकोले यसले समाजलाई भने सही सन्देश प्रवाह गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारितमा देखिएका विकृतिले सिंगो पत्रकारिता क्षेत्रकै लागि चुनौती देखिएकाले यसप्रति गम्भीर हुन जोड दिएका छन् । सञ्चार माध्यम र सञ्चारकर्मीहरुको संख्या बढेपनि त्यस अनुसार गुणस्तरीयता र विश्वसनीयता बढ्न नसकेको अनुभुति पाठक, दर्शक र श्रोताले गरिरहेको पनि ओैंल्याएका छन् ।

प्रविधिको विकाससंगै पत्रकारिता गर्न सहज हुँदै गएपनि विकृति पनि बढेको भन्दै उनीहरुले गुणस्तरीय पत्रकारिता, पत्रकारको क्षमता अभिवृद्धि र पेशागत सुरक्षाका सवालमा महासंघले थप नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।

महासंघका शाखा अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल , प्रहरी उपरीक्षक रमेश बस्नेत, महासंघका पूर्व केन्द्रीय सदस्य महेश दास, प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी,

पर्सा शाखा उपाध्यक्ष विजय चौहान, प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, प्राध्यापक डाक्टर विश्वम्भर शर्मा, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी , लक्ष्मी खरेल लगायतले साधरणसभाको सफलताको शुभकामना मन्तव्य गरेका थिए ।

उद्घाटनपछि भएको बन्दसत्रमा सांगठनिक तथा आर्थिक प्रतिवेदन छलफल पछि अनुमोदन भएको छ । छलफलमा आएका सुझावलाई समेट्दै प्रतिवेदनहरु पारित गरिएको सचिव भुषण यादवले जानकारी दिनुभयो । वीरगन्ज स्थित महासंघकै सभाकक्षमा साधरण सभा सम्पन्न भएको हो ।