शिक्षामा सुधार र जिल्लाको समृद्धि मुख्य एजेण्डा : प्रदीप यादव 

शिक्षामा सुधार र जिल्लाको समृद्धि मुख्य एजेण्डा : प्रदीप यादव 

वीरगन्ज, २४ कार्तिक ।  पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले शिक्षा क्षेत्रमा सुधार गर्दै पर्सावासीलाई समृद्धि तर्फ अगाडी बढाउनु आफ्नो प्रमुख एजेण्डा भएको बताउनु भएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १८ को सौराहा र वडा नम्बर २० को अपौनीमा बिहीबार घरदैलो गर्दै जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण कडी शिक्षा भएको बताउँदै यस क्षेत्रको सुधार आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभयो ।

संसद्का रुपमा निर्वाचित भए पश्चात वीरगञ्जलाई शिक्षाको हवका रुपमा विकास गर्न राष्ट्रिय र अन्तराष्ट्रिय लगानी भित्र्याउने वातावरण सृजना गर्नका निमित्त सदन मार्फत आवाज उठाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक दरवन्दी व्यवस्थापन तथा आवश्यक भौतिक संरचना निर्माणका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले शैक्षिक क्षेत्रमा हुने बन्द हड्ताल र अवाञ्छित गतिविधिलाई निरुत्साहित पार्दै शैक्षिक क्षेत्रको विकृति र भ्रष्टचारलाई निर्मुल पार्न पनि आफूले काम गर्ने बताउनुभयो । कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादव लगायत जसपा र एमालेका नेताहरुको सहभागिता रहेको थियो ।