नारायणी एफ.एम.को १७ औं बार्षिकोत्सवमा वृद्धाश्रममा खाद्यान्न सहयोग
वीरगन्ज, ४ कार्तिक । वीरगन्जबाट प्रशारण हुने सामुदायिक रेडियो नारायणी एफ।एम १०३.८ मेगाहर्ज शुक्रबारबाट१७ औं प्रवेश गरेको छ । एफ.एम.को १७ औं बार्षिकोत्सव अवसरमा एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले नरायणी एफ.एम. परिवारको तर्फबाट श्रोता, विज्ञापनदाता शुभेच्छुकहरुमा शुभकामना व्यक्त गर्नुुभएको छ ।
सामुदायिक रेडियो, नारायणी एफ.एम. १०३.८ मेगाहर्जले ठोरी गाउँपालिकामा संचालित वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । शुक्रबार बिहान ठोरी गाउँपालिका वडा नम्बर १ भगवाननगरमा संचालनमा रहेको वृद्धाश्रमममा खाद्यान्न वितरण गरेको हो । संचालक समितिको टोलीले वृद्धाश्रमका संरक्षक तथा संचालक आश बहादुर गुरुङलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको नारायणी एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभयो ।
आश्रममा आश्रितहरुलाई एफ।एम।को तफबाट १० बोरा चामल, १ बोरा आलु र २ कार्टुन चाऊचाऊ लगायतको सामान ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा ठोरी गाउँपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष रामप्रकाश कुवँर, मुठ्ठी दान अभियानका संयोजक संतोष श्रेष्ठ, नारायणी एफ.एम. संचालक समितिका कोषाध्यक्ष कमल मोहन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
एफ.एम.ले बारा पर्सा औद्योगिक क्षेत्रको मजदुर र उद्योग व्यावस्थापनबीचको द्वन्द्व समाधान, समाजमा कुरितीको रुपमा रहेको बोक्सी प्रथा उन्मुलनमा जनचेतना कार्यक्रम, राज्यको कानूनले अवैध ठहर गरेको लागूऔषध गाँजाखेती नियन्त्रण लगायतका विभिन्न सामाजिक सरोकारका विषयहरुमा सशक्त रुपमा आवाज उठाएर सहयोग पुर्याएको कार्यकारी अध्यक्ष देवकोटोले बताउनुभयो ।
अझै धेरै सामाजिक, आर्थिक र राजनीतिक चेतनाको उभार ल्याउनका लागि नारायणी एफ।एम। सदैव तत्पर रहनेपनि उहाँले बताउनुभयो । यसबर्षदेखि नारायणी एफ।एम। सहित रेसखबर डटकम अनलाई पत्रिका सहित परिष्कृत ढंगबाट मल्टिमिडियामा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
सशक्तिकरणका लागि अनुसन्धान, चेतना र सञ्चार ९रेस नेपाल० द्वारा सञ्चालित नारायणी एफ.एम. २०६३ साल भदौ ८ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट इजाजत प्राप्त गरी २०६३ कार्तिक ४ गतेबाट परिक्षण प्रसारण शुरु गरेको थियो । २०६३ साल मंसिर १ गतेबाट नियमित प्रसारण शुरु गरेको थियो ।