२४ घण्टामा पर्साका एक र बारा एकजना कोरोना संक्रमितको मृत्यु
ट्रिब्यून न्युज
वीरगन्ज, ३१ चैत । पछिल्ल्लो २४ घण्टामा पर्सा र बाराका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत रहेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर -९ का ३७ बर्षीय युवकको मृत्यु भएको हो ।
उनीमा हिजो संक्रमण पुष्टि भएको हो । चारदिन एडभान्स मेडिकेयर अस्पताल एएमसीमा उपचाररत उनको स्वाबको नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनटेर डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।
उनी होलीभन्दा दुईदिन अघि मात्रै भारतको हैदरावादबाट आएको बुझिएको छ । यसैबीच पर्साको कालिकामाई गाउँपालिका २ का ५५ बर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । आइतबार विहान १ बजे भरतपुर अस्पतालमा गएका उनको कोभिड आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले जानकारी दिनुभयो ।
वीरगञ्जको नेशनल मेडिकलबाट उपचारका लागि भरतपुर रिफर गरिएको उनमा कडा निमोनियाको संक्रमण भएको थियो । उनको शव पर्सा नै ल्याइ नेपाली सेनाले अत्येष्टि गरेको छ ।लिभरमा समस्या देखिएपछि उपचारका लागि भारत गएका उनलाई त्यही बेला कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उपचारका लागि उनीसँगै गएका श्रीमती र कान्छो छोरालाई गाउँमै क्वारेन्टिनमा राखिएको वडाध्यक्ष सोनालाल चौरसियाले जानकारी दिनुभयो ।