स्वदेशी लगानीमै बन्ने भयो विश्वको सबैभन्दा लामो मुक्तिनाथ केबलकार
काठमाडौं । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार स्वदेशी लगानी मै बन्ने भएको छ । केबलकारमा नेपाली बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी गर्ने भएका छन् । केबलकारको विकासकर्ता मुक्तिनाथ दर्शनले विदेशी बैंक तथा वित्तीय संस्थासँग छलफल अघि बढाए पनि अन्ततः नेपाली बैंकहरुबाट ऋण लिने भएको छ ।
मुक्तिनाथमा नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा ७ बैंक तथा वित्तीय संस्था ऋण लगानी गर्न तयार भएका छन् । ऋण लगानीको सहनेतृत्व भने कर्मचारी सञ्चय कोषले गर्ने भएको छ ।
सहवित्तीयकरण अन्तर्गत नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छे« बैंक, नेपाल बंगलादेश बैंक र कृषि विकास बैंकले लगानी गर्ने प्रारम्भिक सहमति भएको छ । यस्तै मुक्तिनाथमा लगानी गर्न सानिमा बैंकले पनि चासो देखाएको बुझिएको छ ।
केबलकारमा बैंकहरुले २८ अर्ब ४० करोड रुपैयाँ दीर्घकालीन ऋण लगानी गर्ने प्रारम्भिक सहमति भएको कुरा मुक्तिनाथ स्रोतले बताएको छ । प्रारम्भिक चरणको कुरा भएकाले अन्तिम सम्झौता हुन समय लाग्ने स्रोतको भनाइ छ । लगानी बोर्ड र मुक्तिनाथबीच आयोजना विकास सम्झौता (पीडीए) भएपछि मात्र बैंकहरुले लगानी गर्ने छन् ।
आयोजना सम्पन्न गर्न ५४ अर्ब रुपैयाँ लाग्ने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले देखाएको छ । जसअनुसार १५ अर्ब ऋणपत्र ९डिबेन्चर० निष्कासन र १० अर्ब ६० करोड रुपैयाँ स्वपुँजीको संरचना हुने गरी लगानी मोडालिटी बनाइएको छ । निफ्रा र सञ्चय कोषले मात्रै १४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
पछिल्लो समयमा विश्व बजारमा डलर बलियो हुँदै गएपछि विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण महंगो हुने देखिएपछि स्वदेशी लगानीमा मुक्तिनाथ केवलकार निर्माण गर्न लागेको स्रोतको भनाइ छ । अहिले १ डलर बराबर १२१ रुपैयाँ पुगेको छ । अमेरिकाको फेडरल रिजर्भले ब्याजदर बढाउने हल्ला चलेपछि विश्व बजारमा डलर थप बलिलो भएको छ ।
वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्न वन तथा वातावरण मन्त्रालयले सहमति दिएपछि मुक्तिनाथले क्षेत्र निर्धारण ९स्कोप० र कार्यादेश (टर्म अफ रिफरेन्स) स्वीकृत गरेको छ । हाल जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र ३ वटा स्टेसनका लागि मात्र जग्गा अधिग्रहण गर्ने काम बाँकी रहेको कम्पनीले जनाएको छ ।
हिउँ परेकाले बाँकी जग्गा अधिग्रहणको काम रोकिएको छ । असारसम्म प्राविधिक काम सकेर आउँदो दसैंअघि नै केबलकारको शिलान्यास गर्ने योजना रहेको कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिए ।
ईआईए सकिनासाथ लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पीडीए) हुनेछ । काम सुरु गरेको ६ महिनामा ईआईएको काम सक्ने लक्ष्य मुक्तिनाथको छ । केबलकार परियोजनालाई लगानी बोर्डले सहजीकरण गरिरहेको छ ।
मुक्तिनाथले केबलकारको डीपीआर तयार पारी गत वर्षको कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो । यो वर्ष (पीडीए), वित्तीय व्यवस्थापन र निर्माण सम्झौताको काम सकेर आगामी वर्षदेखि केबलकार संरचनाको निर्माण थाल्ने योजना मुक्तिनाथ दर्शनको छ ।
कोरोना महामारीले केबलकारको काम अवरुद्ध हुँदा ढिलाइ भएको हो । यद्यपि काम सुरु भएको ४३ महिनाभित्र निर्माण सकेर केबलकार सञ्चालन गर्ने लक्ष्य कम्पनीको छ ।
करिब ४४ अर्ब ऋण लगानी हुने र बाँकी १० अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुटाउने काम हुनेछ । लगानी जुटाउन सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने योजना मुक्तिनाथको छ । केबलकारको प्रतिफल १३ प्रतिशत देखिएको छ । केबलकारमा लगानी गर्न स्वदेशी विभिन्न बैंकहरूसँग छलफल भइरहेको छ । पीडीएपछि मात्र बैंकहरूसँग ऋण लगानी सम्झौता हुनेछ ।
केबलकारमा टप टु बटन १९ वटा स्टेसन हुनेछन् । यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्नेछ । ५ वटा स्टेसनमा अत्यावश्यक भएमा मात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । यद्यपि, एउटा टिकटको समयावधि ७ दिनको हुनेछ र सो दिनभित्र यात्रुहरु फर्किसक्नुपर्नेछ ।
कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ । केबलकारमा ७७६ वटा गोन्डा राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबलकार १ हजारदेखि ३ हजार ७ सय मिटरको उचाइसम्म पुग्नेछ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना विकासकर्ताको छ ।
यस्तै केबलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किमि, तेस्रो घोडेपानीदेखि तातोपानीसम्म १२।७३ किमि, चौथो तातोपानी–लेते १६.४४ किमि रहनेछ । यस्तै पाँचौं लेतेदेखि जोमसोमसम्म २३.९२ किमि, छैटौं जोमसोमदेखि कागबेनी ८.२४ र सातौं कागबेनीदेखि रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ ।
वार्षिक ३६ लाख यात्रुले यात्रा गर्ने अनुमान गरिएको मुक्तिनाथ केबलकारमा सोही क्षमता बराबरको गोन्डला राखिनेछ । केबलकार संरचना बनेर सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली खपत हुनेछ ।
विश्वकै लामो लामो र ठूलो केबलकार भएकाले १३ मेगावाट बिजुली खपत हुने डीपीआरमा उल्लेख छ । ०७५ भदौ २७ गते लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
क्यापिटल नेपालबाट साभार......