सीमा नाका सहज बनाउन होटल तथा पर्यटन व्यावसायीको ध्यानाकर्षण, छिट्टै सीमा खोल्ने प्रधानमन्त्रीको आश्वासन
वीरगन्ज, ४ असोज । वीरगन्जका होटल तथा पर्यटन ब्यवसायीहरुले लामो समयदेखि बन्द रहेको वीरगन्जको सीमा नाका खुलाउन माग गर्दै प्रधानमंत्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमंत्री शेर बहादुर देउवालाई भेटेर व्यावसायीहरुले वीरगन्जको सीमा नाकाबाट भारतीय सवारी साधनलाई निर्वाध रुपमा आउन नदिँदा पर्यटकहरु घटेको र यसले होटल तथा पर्यटन ब्यवसाय संकटमा पर्न थालेको समस्या प्रधानमंत्री समक्ष राखेका छन् ।
सीमा नाका बन्द हुँदा वीरगन्ज क्षेत्रका होटल ब्यवसाय र यहाँको पर्यटन क्षेत्रमा परेको समस्याको बिषयमा प्रधानमंत्री देउवाको ध्यानाकर्षण गराइएको होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो ।
उहाँले प्रधानमंत्री देउवा यो बिषयमा सकारात्मक भएको पनि जानकारी दिनुभयो । छिट्टै सरकारले सीमा नाका खोल्ने आश्वासन प्रधानमन्त्रीले दिनुभएको उहाँले बताउनुभयो ।
२०७६ साल चैत ११ गतेबाट कोरोना संक्रमणको जोखिम रहेको भन्दै सरकारले बन्द गराएको सीमा नाका औपचारिक रुपमा अझै नखुलेपछि यहाँका ब्यवसायीहरु मारमा परेका हुन् ।
उनीहरुले पटक पटक सीमा नाका सहज बनाइदिन माग गर्दै आइरहेका छन् । वीरगन्जमा करिब ७० वटा साना तथा ठूला होटल रहेको र २० अर्बको लागनी होटल क्षेत्रमा रहेको यहाँका ब्यवसायीहरुको भनाइ छ ।