सीमित स्रोत र साधनमा पनि उल्लेख्य विकास भएको छ : नगर प्रमुख सरावगी 

सीमित स्रोत र साधनमा पनि उल्लेख्य विकास भएको छ : नगर प्रमुख सरावगी 

वीरगन्ज, १४  चैत्र ।  वीरगञ्ज महानगरपालिकाको चालू आर्थिक वर्ष २०७८÷७९ को दोस्रो सार्वजनिक सुनुवाइ सोमबार सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरको वडा नम्बर ४ वीर्तामा भएको कार्यक्रममा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सीमित स्रोत साधनमा वीरगञ्जको विकासमा उल्लेख्य काम भएको दावी गर्नुभयो ।

आफू महानगरको नेतृत्व सम्हाल्न आउँदा ३६ करोड ऋण र १७ करोडमात्रै आम्दानी रहेकोमा अहिले ऋण चुक्ता गरेर महानगरलाई विकासको बाटोमा अग्रसर गराएको पनि प्रमुख सरावगीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वीरगञ्जमा अब विकासको बाटो तयार भएको छ ।

यसलाई अघि बढाउन कुशल चालक (मेयर)को खाँचो छ । आसन्न स्थानीय चुनावमा जनताले सक्षम नेतृत्व छानेर विकासलाई अघि बढाउने विश्वास लिएको छु, ।’ वीरगञ्जको समृद्धि र विकासका लागि आफू व्यापार छोडेर राजनीतिमा आएको बताउदै सरावगीले आगामी चुनावमा वीरगञ्जमा आफूभन्दा सक्षम व्यक्ति अघि सरेमा उसलाई सहयोग गर्ने पनि बताउनुभयो ।

"मलाई पद होइन, वीरगञ्जको विकास र सुन्दर भविष्य चाहिएको छ, ‘पार्टीले टीकट दियो भने म मेयरमा पुनः लड्छु । प्रतिस्पर्धामा मभन्दा अन्य कोही सक्षम आउँछ भने म पछि हटेर उसलाई सघाउँछु,’ उहाँले भन्नुभयो । वीरगञ्जको मेयरमा चुनिएपछि विगत साढे ४ वर्षमा थुप्रै काम भएको दाबी गर्नुभयो ।

फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा, शिक्षा, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा र सेवाका क्षेत्रमा उल्लेखनीय काम भएको भएपनि महानगरको सीमित स्रोत र यसैबीचमा कोरोना महामारीले हामीलाई सोचेजति काम गर्न नदिएको नगर प्रमुख सरावगीको भनाई थियो ।

समयान्तर मिडिया प्रालिले संयोजन गरेको कार्यक्रमका सहभागीले महानगरबाट जनताले अपेक्षित विकास र सुधारको अनुभूति पाउन नसकेको गुनासो गरेका थिए । स्वास्थ्य, शिक्षा, सरसफाईजस्ता जनताका आधारभूत आवश्यकताको कमजोर सेवा प्रवाह भएको उनीहरुले बताए ।

जनस्तरबाट आएका रचनात्मक सुझावलाई महानगरले आत्मसात गरी सुधार गर्ने पनि सरावगीले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रम वीरगञ्ज वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानुको अध्यक्षतामा भएको थियो । उहाँले सीमित स्रोतका कारण वडामा सोचेजति विकास निर्माणका काम गर्न नसकेको बताए ।