विभिन्न मुद्दाका फरार तीनजना अभियुक्त पक्राउ 

विभिन्न मुद्दाका फरार तीनजना अभियुक्त पक्राउ 

ट्रिब्यूना न्युज 
वीरगन्ज, ३ बैशाख । जिल्ला प्रहरी कार्यालय बाराले कुटपिट गरी अंगभंग मुद्दामा दोषी ठहरिएपछि फरार रहेका तीन जनलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतको मिति २०७६ असार २७ गतेको फैसला आदेशले कुटपिट अंगभंग मुद्दामा कैद तथा जरिवाना लागि फरार रहेका बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ बस्ने धुमन साह सोनार वडा नम्बर ९ बस्ने असलम देवानलाई बारा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको सिलसिलमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई फेला पारी पक्राउ गरेको हो । धुमन साह सोनारलाई ४ वर्ष कैद र चार हजार जरिवाना तथा असलम देवानलाई ६ महिना कैद र  पाँच हजार जरिवाना तोकिएको छ । त्यस्तै  बारा जिल्ला अदालतमा बिचाराधिन रहेको ठगी मुद्दाका एक अभियुक्तलाइ पनि बारा प्रहरीले पक्राउ गरेको छ ।

बाराको सुवर्ण गाउँपालिका वडा–८ बस्ने नेपाली खाँ पैठान भन्ने आजाद खाँ पैठानलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनलाई बारा जिल्ला अदालतमा पेश गरी अदालतको आदेशानुसार कैद तथा जरिवाना भुक्तानको लागि वीरगन्ज कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।