दुईथान स्वचालित पेस्तोल र लागू औषध सहित कारोबारी र प्रहरी नै पक्राउ  

भारतको सीमावर्ती रक्सौल बजारबाट वीरगन्जतर्फ आउदै गरेका उनलाई  शंका लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा मगरलाई हतियार सहित पक्राउ गरेको हो । उनी रक्सोलबाट दोश्रो पटक पेस्तोल लिएर फर्किदै गर्दा पक्राउ परेका हुन् । उनी पक्राउ परेपछि घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले आपराधिक गतिविधिमा संलग्न गिरोहलाई नै पक्राउ गर्न सफल भयो ।  प्रहरीका अनुसार राजु राना मगर पक्राउ परेको करिब २० दिन अगाडि अर्का लागूऔषध कारोबारी काठमाडौं बस्ने राम प्रजापतिसँग मिलेर पेस्तोल खरिद गर्ने सल्लाह गरेका रहेछन् । त्यसबेला रक्सौल गएर मुमताज भन्ने व्यक्तिलाई दुईवटा पेस्तोलको एक लाख ५० हजार रुपैयाँमा मोलमोलाई गरी एक लाख रुपैयाँ पेश्की समेत दिईसकेका थिए ।

दुईथान स्वचालित पेस्तोल र लागू औषध सहित कारोबारी र प्रहरी नै पक्राउ  

वीरगन्ज, १२ बैशाख । बैशाख ८ गते बुधबार मकवानपुरको मनहरी गाउँपालिका– ५ बस्ने २५ वर्षीय राजु राना मगर स्वचालित पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान म्याग्जिन सहित शंकराचार्य गेट नजिकैबाट पक्राउ परे । भारतको सीमावर्ती रक्सौल बजारबाट वीरगन्जतर्फ आउदै गरेका उनलाई  शंका लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा मगरलाई हतियार सहित पक्राउ गरेको हो ।

उनी रक्सोलबाट दोश्रो पटक पेस्तोल लिएर फर्किदै गर्दा पक्राउ परेका हुन् । उनी पक्राउ परेपछि घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले आपराधिक गतिविधिमा संलग्न गिरोहलाई नै पक्राउ गर्न सफल भयो ।  प्रहरीका अनुसार राजु राना मगर पक्राउ परेको करिब २० दिन अगाडि अर्का लागूऔषध कारोबारी काठमाडौं बस्ने राम प्रजापतिसँग मिलेर पेस्तोल खरिद गर्ने सल्लाह गरेका रहेछन् ।

त्यसबेला रक्सौल गएर मुमताज भन्ने व्यक्तिलाई दुईवटा पेस्तोलको एक लाख ५० हजार रुपैयाँमा मोलमोलाई गरी एक लाख रुपैयाँ पेश्की समेत दिईसकेका थिए । त्यसपछि मगर र प्रजापति वैशाख ८ गते नै वीरगन्जको बसपार्कमा पुगेर लागूऔषध कारोबारमा पहिलेका सहयोगी लालबाबु सिंहलाई लिएर रक्सौल गए ।

त्यहाँ उनीहरुले एक सय सेट इन्जेक्सन, १२ सय पिस नेट्राभेट ट्याब्लेट र एक्सट्रा म्याग्जिन सहितको ‘सनमाइका’ लेखेको स्वाचालित पेस्तोल लिई कुँवर सिंहको अटो रिक्सामा बसेर वीरगन्ज बसर्पाकमा रहेको मनकामना गेस्ट हाउसको कोठा नम्बर १०५ मा बसेका थिए । कुवँर सिंहपनि पहिलेदेखि नै आपराधिक घटनामा संलग्न रहेको पाईएको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

उनका अनुसार होटलमा बसेका मगर र प्रजापतिको हतियार लुटपाट गर्ने लालबाबु सिंहले योजना बनाए । सोही अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेश प्रसाद यादवसहित रोशन सिंह र नन्दन सिंहलाई बोलाएर त्यही दिन दिउँसो ४ बजेको समयमा दुवै जना कोठा नम्बर १०५ मा प्रवेश गरी लागूऔषध, पेस्तोल, म्याग्जिन, मोबाइल सेट र राम प्रजापतिको दुवै कानमा रहेको सुनको मुन्द्रा र ७ हजार रुपैयाँ नगद लुटेका थिए ।

लालबाबु सिंह, अवधेश यादव, नन्दन सिंह र रोशन सिंह भित्र हतियार र लागू औषध लुट्न पसेपछि श्यामबाबु कुशवाहा र अरविन्द गुप्ता निगरानी गर्न गेस्ट हाउस बाहिर बसेको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । एउटा पेस्तोल लुटिएपछि मगर दोस्रो पेस्तोल लिन त्यही दिन रक्सौल पुगेका थिए । दोस्रो पेस्तोल र म्याग्जिन लिएर पैदलै वीरगन्ज प्रवेश गर्ने क्रममा नाकामा खटिएका प्रहरीले शंका लागेर चेक गर्दा मगरको साथबाट पेस्तोल र म्याग्जिन बरामद गरेको थियो ।

प्रहरीका अनुसार मगर पक्राउ परेपछि थालिएको अनुसन्धानले हातहतियार र लागूऔषध लुटपाट भएको खुलासा भएको हो । लुटिएको हातहतियार रोशन सिंहले वीरगन्ज महानगरपालिका– १५ स्थित आफ्नो घरदेखि पूर्वपट्टि करिब सय मिटरको दूरिमा रहेको सूर्योदयनगर चोकको दक्षिणपट्टि रहेको झाडीमा लुकाएको अवस्थामा फेला परेको एसपी पाण्डेले बताए ।

पेस्तोलमा लाग्ने एक्सट्रा म्याग्जिन प्रहरी जवान अवधेश यादवको वीरगन्ज महानगरपालिका– १३ स्थित डेराकोठाभित्रको खाटको बिछ्यौना मुनिबाट बरामद भएको थियो । लुटिएका लागूऔषध प्रहरी जवान यादवले वीरगन्ज महानगरपालिका– १३ स्थित सिर्सिया खोलाको छेउमा रहेको नर्कटको झाडीमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुनका मुन्द्राहरु लालबाबु सिंहको दाहिने जुत्ताको तलुवाभित्रबाट बरामद भएको छ । हतियार र लागूऔषध सहित पक्राउ परेका मगरसहित प्रहरी जवान अवधेश यादव, वीरगन्ज मुर्ली निवासी लालबाबु सिंह, श्यामबाबु कुशवाहा, अरविन्द गुप्ता, कुँवर सिंह, नन्दन सिंह र रोशन सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खनालले बताए ।

उनीहरु पहिलेदेखि नै लागूऔषध बेचबिखन, लुटपाट लगायतका आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुमाथि लागूऔषध, हातहतियार तथा संगठित अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।