बाँणिज्य बैंकहरुले यी वस्तुहरु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने

बाँणिज्य बैंकहरुले यी वस्तुहरु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने

वीरगन्ज । वाणिज्य बैंकहरुले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएका छन् । राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार उक्त निर्णय गरेको हो ।  

संघको अर्को बैठकले निर्णय नगर्दासम्मका लागि निजी गाडी, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामाग्री, पर्फ्युम, मोबाइललगायत सामाग्री आयातका लागि एलसी नखोल्ने निर्णय भएको छ । त्यसो त बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि गत साता नै गाडी लगायत कम आवश्यक र विलासिता वस्तुका लागि एलसी नखोल्न आफ्ना शाखाहरुलाई निर्देशन दिइसकेका छन् ।

तर उक्त विषयमा बैंकर्स संघले औपचारिक निर्णय गरिसकेको थिएन । सोही कारण आज संघले औपचारिक रुपमै अर्को सातासम्मका लागि उल्लिखित वस्तुका लागि एलसी नखोल्ने निर्णय भएको स्रोतले बताएको छ । यो निर्णय पछि बैंकहरुले उल्लिखित वस्तु आयातका लागि एलसी खोल्ने छैनन् ।

यसअघि राष्ट्र बैंकले दुई पटक गरी ६७ उपसमूह अन्तर्गत पर्ने करिब साढे १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि १ सय प्रतिशतसम्म नगद मौज्दात (क्यास मार्जिन) राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले गत फागुनमा आयात केही घटे पनि चैतमा पुन बढेको संकेत भन्सारका तथ्यांकले देखाएका छन् ।

यसकारण गत साता राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतलाई डाकेर गाडी लगायत अनावश्यक वस्तु आयातका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो । बैंकहरुका गतिविधि राष्ट्र बैंकले शुक्ष्म रुपमा नियमन गर्ने र निर्देशन पालना नभए कारवाही गर्ने चेतावनी पनि राष्ट्र बैंकले दिएको थियो । उक्त निर्देशनपछि बैंकहरुले तोकिएका वस्तुका लागि एलसी नखोलेको स्रोतले जनाएको छ ।