जबरजस्ती करणीको आरोपमा पर्सा प्रहरीद्वारा २ जना पक्राउ
ट्रिव्यून न्युज
वीरगन्ज, २९ फागुन । जबरजस्ती करणीको आरोपमा पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक महिलालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना युवक प्रक्राउ परेका छन् । २१ वर्षीया महिला गहुँखेतमा घाँस काटिरहेको अवस्थामा पटेर्वासुगौली गाउँपालिका वडा नं.४ अकुवाटोलका १९ वर्षिय अविशेक दास थारूले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।
महिलालाई जबरजस्ती करणी गर्न खोज्दा पीडितले प्रतिकार गरी घाँस काट्ने हँसिया दासमाथि प्रहार गर्न खोजेपछि अभियुक्त दास भागेर फरार भएका थिए । घटनाबारे महिलाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी टोलीले प्रतिवादी अविशेक दास थारूलाई खोजतलाश गर्ने क्रममा घरबाटै नियन्त्रणमा लिएर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनी विरूद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकास खनालले जानकारी दिनुभयो । त्यस्तै पर्साको सखुवाप्रसौनी गाउँपालिकामा जवरजस्ती करणीको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सखुवापर्सौनी गाउँपालिका वडा नं.५ बलुवा टोलका १८ वर्षिय रोशन कुमार यादवलाई एक १६ वर्षिय बालिकालाई विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ ।
यादवले ललाई फकाई बालिकालाई भारतको गोरखपुर भन्ने ठाउँमा लगि डेरामा राखी पटकपटक करणी गरेको र पछि पीडित वालिकाको घर तथा प्रहरीबाट खोजतलास भइरहेको भन्ने थाहा पाएपछि पीडित बालिकालाई आफ्नो घर फर्कन बाध्य बनाएको पिडितका बुवाले जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । पीडितको जोहरी पछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले यादवलाई खोजतलास गर्ने क्रममा घरबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादव विरूद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकास खनालले बताउनुभयो ।