जनगणनाको सचेतना गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधि नै अनुपस्थित 

जनगणनाको सचेतना गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधि नै अनुपस्थित 

ट्रिब्यून न्युज 
वीरगन्ज, २७ चैत । राजनीतिक दलका नेताहरु जनताको मतबाट जनप्रतिनिधि भएर देशको नीति निर्माण तहमा पुग्छन् । जनताको मतका कारण उनीहरु उच्च तहमा पुगेर जनताको सेवा गर्नुपर्ने हुन्छ । तर, जनताबाट जितेर जाने जनप्रतिनिधिहरु जनताप्रति न त उत्तरदायी नै छन् । न त उनीहरुले जनतालाई केन्द्रमा नै राखेका छन् ।

उनीहरु केवल आफ्नो सत्ता स्वार्थमा मात्रै डुबिरहेका छन् । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा लिएर राष्ट्रिय जनगणनालाई सफल बनाउन तथ्यांक कार्यालयले आयोजना गरेको  सचेतना गोष्ठीमा भने ती जनताका प्रतिनिधि भनाउँदा स्थानीय तहका सरकारको सहभागिता भने देखिएन ।

जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरीय सचेतना गोष्ठीमा पर्साका १४ वटै स्थानीय तहका प्रमुखहरुलाई निमन्त्रणा गरेको भएपनि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी बाहेक कुनैपनि स्थानीय तहका सरकार प्रमुखहरुको सहभागिता थिएन ।

जनसंख्याको वालिग मताधिकारबाट चुनिएका जनप्रतिनिधिहरु आफ्नो मतदाताहरुको सवालमा नै गम्भीर हुदैनन् भने अन्य विषयमा कति चासो र सक्रियता देखाउलान् भन्ने गम्भीर प्रश्न मतदाताहरुले उठाएका छन् । जनगणनाले नै समग्र देशको सचित्र वर्णन गर्न सहज हुन्छ । यो राष्ट्रिय अभियानमा पर्साका स्थानीय सरकारको उदासिनताले मुलुक समृद्धिको बाटोमा जाने संकेत भने देखिएन ।

जनगणना जस्तो संवेदनशील विषयमा समेत जनप्रतिनिधिहरु र सरकारी तलब भत्ता खानेहरुले इमान्दारिता नदेखाउनु जनताप्रति जनउत्तरदायी छैनन् भन्ने स्पष्ट प्रमाण हो । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको जिल्ला स्तरीय सचेतना गोष्ठीमा जिल्लाका १४ वटै स्थानीय तहका प्रमुखहरुलाई खबर गरेको भएपनि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बाहेक अरु कोही पनि उपस्थित नभएपछि पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले समेत असन्तुष्टि जनाउनुभयो ।

स्थानीय तहको विकासका लागि आधार तयार गर्ने जनगणना जस्तो महत्वपूर्ण राष्ट्रिय अभियानमा समेत स्थानीय तहका सरकार प्रमुखहरुले वेवास्ता गर्नु भनेको उनीहरु जनताको काममा भन्दा व्यक्तिगत स्वार्थमा बढी चासो देखाउने गरेका छन् भन्ने सहज बुझाई नागरिकको छ ।

तथ्यांक कार्यालय पर्साले सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई आमन्त्रण गरेपनि महानगरपालिकाका नगर प्रमुख बाहेक कोहीपनि स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित नभएको तथ्यांक कार्यालका प्रमुख तथ्यांक अधिकृत केशव ज्ञवालीले बताउनुभयो ।