‘गिरीश फ्लेवर’ मतदाताको नयाँ टेष्ट हुन सक्ला ?

‘गिरीश फ्लेवर’ मतदाताको नयाँ टेष्ट हुन सक्ला ?

वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवारमा एमालेबाट विजय सरावगी र जसपाबाट राजेशमान सिंह कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको अवस्थामा राप्रपाबाट गिरीशले पनि मेयरमा उम्मेदवारी दिएपछि वीरगन्जको राजनीतिले नयाँ मोड लिएको छ ।

एक कार्यकाल विताई सकेका एमालेबाट मेयरको उम्मेदवार विजय सरावगी र गएको निर्वाचनमा सरावगीकै प्रतिस्पर्धामा रहेका राजेशमान सिंह राजपा, लोसपा, एमाले हुदै जनता समाजवादी पार्टी नेपालबाट प्रमुखको उम्मेदवार बनेपछि कसलाई मत दिने भनेर अन्योलमा रहेका महानगरपालिकाका मतदातालाई नयाँ फ्लेभरको उम्मेदवार पाएको छ, गिरीश गिरी ।

सत्तगठबन्धनको तालमेलका क्रममा वीरगन्ज महानगगरपालिका नेपाली कांग्रेसको भागमा नपरेपछि अमिलो र टर्रो मन बनाएका कांग्रेस जनले महानगरमा जसपाको उम्मेदवारलाई भोट हाल्नुपर्ने अवस्था आएको भन्दै विकल्प खोजी रहेका थिए । राप्रपाबाट मेयरको रुपमा गिरीश गिरीलाई वीरगञ्ज महानगरपालिकाका मतदाताले अर्को विकल्पको रूपमा पाएका छन् । सरावगी र सिंह बाहेक तेश्रो राम्रो व्यक्ति आईदिए हुन्थ्यो भन्ने मतदाताको चाहाना त गिरीश गिरीको उम्मेदवारी मनोनयनले पूरा गरिदिएको छ ।

वीरगञ्ज महानगरपालिकाका मतदातालाई दुई दलका उम्मेदवार बाहेक अर्को छनौटको अवसर नभएको अवस्थामा गिरीको प्रवेशले महानगरपालिकाका मतदाताले नयाँ स्वाद चाख्ने मौका पाएका छन् । ‘गिरीश फ्लेवर’ तटस्थ मतदाताहरुको लागि उत्तम विकल्प हुनसक्ने भएपनि मतदाताको मनोविज्ञानलाई भने अझै बुझ्न कठिन नै छ । कांग्रेस र जसपा नेपाल एक्लै एक्लै निर्वाचन लड्न तयार भएपनि गठबन्धन गर्नुपर्ने बाध्यताले अमिलोे बनाएका कांग्रेसजनहरुको गठबन्धनलाई जिताउन कति कसरत गर्छन् त्यसमा भरपर्छ ।

जनता समाजवादी नेपाल वीरगन्ज महानगरपालिकाको आफै एक शक्ति भएकोले गठबन्धनमा समेतसँगै मिलेर हिड्ने प्रयास नगरेको हो वा हिड्न नचाहेको हो ? त्यो भित्री कुराहरु हुन् । तर, गिरीश गिरीको प्रवेशले वीरगन्जकोे राजनीति भने तरंगित बनाएको छ । गिरी पूर्व नगर प्रमुख गोपाल गिरीका छोरा हुनुहुन्छ । २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाह नेतृत्वको सरकारले वीरगञ्ज नगरपालिकाको मेयरमा गोपाल गिरीलाई मनोनीत गरेको थियो ।

शाही शासनकालमा मेयर भएकोले नै ६ महिनापछि माओवादी कार्यकर्ताले उनको हत्या गरे । गोपाल गिरीको निधनपछि भने परिवारबाट कोही पनि सक्रिय राजनीतिमा आएनन् । गिरीश भने वीरगन्जको विकासको एजेण्डा लिएर राप्रपाको तर्फबाट वीरगञ्ज महानगरपालिकाका लागि एकाएक मेयरमा उम्मेदवारी दिनुभयो । गिरीश गिरी गोपाल गिरीको छोराले मात्रै परिचित हुनुहुन्न ।

उहाँ आफै पनि पत्रकार र राम्रो लेखकको रुपमा पहिचान बनाईसकेका व्यक्ति हुनुहुन्छ । नयाँ मान्छेको खोजीमा रहेका वीरगन्जको मतदातालाई राजेशमान र विजयको विकल्पको रुपमा अगाडि आउनु भएको छ । तर, उहाँको पार्टी राप्रपाले राजसंस्था बोकेर हिडेकोले गिरीश गिरीलाई निर्वाचन जित्न भने सहज छैन । गणतन्त्र र संघीयताले देश बर्बादीतर्फ गईरहेको भन्नेहरुका लागि ‘गिरीश फ्लेवर’ वैकल्पिक उम्मेदवार बन्न सक्नुहुन्छ । तर, संघीयता र गणतन्त्रको स्थापनाका लागि वीरगञ्जले धेरै ठूलो योगदान दिएको छ ।

राजवादी र हिन्दू धर्मको वकालत गर्ने पार्टीबाट उम्मेदवार बन्नुभएकोले अन्य राजनीतिक दलहरुबाट हिन्दुधर्म प्रति आस्था राख्नेहरुको पनि सहानुभूति पाउन सक्ने सम्भावना प्रवल रहेको छ । यद्यपि दुवै गठबन्धनका दलहरुमा सांगठनिक भोट भएकोले उहाँको पक्षमा यी भोटहरु जान नसक्ने विश्लेषकहरु बताउछन् । केहीदिन अघि वीरगन्जमा आयोजना गरिएको आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले केही मतदाताहरुलाई सोच्न बाध्य बनाएर जानु भएको छ । यसले पनि गिरीशको निर्वाचनमा थप बल पुगेको छ ।