एमसीसीको विरोधमा वीरगन्जमा स्वतन्त्र युवाहरुद्वारा प्रदर्शन
वीरगन्ज, १० फागुन । अमेरिकी सहयोग नियोग (मिलिनियम च्यालेञ्ज कर्पोरेशन) को सर्वत्र विरोध भईरहेको बेला वीरगन्जमा पनि एमसीसीको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन् । सरकारले संसदमा एमसीसी छलफलका लागि टेबुल गरेपछि त्यसको सत्तारुढ दलहरुकै तर्फबाट विरोध भईरहेको छ ।
आम नागरिकले पनि अमेरिकी सहयोगको विरोध गरिरहेका छन् । वीरगन्जमा पनि पार्टी भन्दा देश पहिले भन्दै स्वतन्त्र युवा समूहले मंगलबार विरोध प्रदर्शन गरेका हुन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भेला भएका स्वतन्त्र युवा समूहले एमसीसीको विरोधमा प्रदर्शन गरे ।
नो एमसीसी, राष्ट्रघाती सम्झौता खारेज गर, एमसीसी चाहिदैन, देश बेच्न पाईदैन भन्ने नारा लेखिएको प्लेकार्ड सहित ठाकुररामबाट शुरु भएको विरोध प्रदर्शन घण्टाघरमा आएर कोणसभा गरेका छन् । कुनैपनि राजनीतिक दलहरुको सहभागिता नगराएर स्वतन्त्र रुपमा एमसीसीको विरोध गरेको युवा समूहले बताएका छन् ।
‘देश रहे राजनीतिक गर्ने हो । देश भन्दा ठूलो राजनीतिक दल हुदैन’ भन्दै देशको रक्षाका लागि एमसीसीको विरोध गरेको प्रदर्शनमा सहभागि युवाहरुले बताएका छन् ।