आफ्नै हाकिमसँग १५ लाख फिरौती माग्ने एकजना पक्राउ
वीरगन्ज, २ असार । जिल्ला प्रहरी कार्यालय बाराले १५ लाख फिरौती माग्ने एकजनालाई पक्राउ गरेको छ । बारा जिल्लाको सुवर्ण गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवलाई एनसेल कम्पनीको अपरिचित नम्बरबाट फोन तथा एसएमएस गरेर १५ लाख रूपैया माग गर्ने बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दिया टोलका २८ बर्षीय मुकेश प्रसाद यादवलाई बारा प्रहरीले पक्राउ गरेको हो ।
यादवले श्रीवास्तवलाई १ घण्टा भित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भनेर पटक–पटक फोन तथा सन्देश पठाएर फिरौती माग गरेको भन्ने श्रव्य सहितको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएपछि तत्काल अनुसन्धान टोली गठन गरी प्रहरी टाेली खटिएको थियाे ।
प्रहरीले सेवा प्रदायक कम्पनी समेतको प्राविधिक सहयोगबाट अनुसन्धान गर्दा सोही गाउँपालिकामा कारारमा काम गर्ने कार्यालय सहयोगी यादवले गरेको पुष्टि भएकोले उनलाई पक्राउ गरी अपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।