९६ वटा पीसीआर परीक्षणमा ६१ जनामा संक्रमण पुष्टि, होम आईशोलेसनमा बसेकाहरुको निगरानी छैन
ट्रिब्यून न्युज
वीरगन्ज, ६ बैशाख । वीरगन्जमा आईतबार राति ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा ९६ जनाको पीसीआर परिषण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका ६१ मध्ये पर्सा जिल्लाको मात्रै ४९ जना छन् । ती मध्ये वीरगन्ज महानगरपालिकाको मात्रै ४७ जना रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० का १३ जना, वडा नम्बर ६ का १० जना र वडा नम्बर ७ का ६ जना तथा अरु २४ जना महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । यस्तै पर्साको धोबीनी गाँउपालिकाका २ जनामा पनि संक्रमण भेटिएको डाक्टर दासले जानकारी दिनुभयो । नारायणी अस्पतालमै आईतबार राति गरिएको परिक्षणमा बाराका ११ जना र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको दासले बताउनुभयो ।
यसअघि अस्ति शनिवार बेलुकी नारायणी अस्पतालकै प्रयोगशालामा ९० स्वाब नमुना परिक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो एक हप्ता यता दिनहु हुदै आएको परिक्षणमा जाँच गराएका मध्ये आधा संख्यामा कोरोना संक्रमण भेटिने गरेको छ । परीक्षण गरिएका व्यक्तिमध्ये ५० प्रतिशतभन्दा बढीमा भाइरस पुष्टि हुनुले यहाँ संक्रमणको दोश्रो लहरले भयावह रुप लिने खतरा देखिएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन् । संक्रमित भई होम आईशोलेसनमा रहेकाहरुको निगरानी समेत भएको छैन । यसले थप समुदायमा कोरोना संक्रमण फैलिने खतरा बढेको छ ।